सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ (जलन) उपचार केन्द्र स्थापना गर्ने योजनालाई तत्काल अगाडि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलका क्रममा उनले मुलुकका प्रमुख सरकारी अस्पतालहरूमा बर्न वार्डको सुदृढीकरणका लागि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीहरूले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्नका लागि संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाहरूबीच प्रभावकारी समन्वय गर्न आवश्यक रहेको सुझाव दिए।

छलफलका क्रममा उनले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारे। यसका लागि अस्पतालहरूको सरसफाइ, सेवा प्रवाहमा गुणात्मक सुधार, ‘डिजिटल’ प्रविधिको अधिकतम प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न उनले ध्यानाकर्षण गराए।

प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नका लागि निजी अस्पतालहरूले आफ्नो बहिरंग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत भाग सहुलियतपूर्ण रूपमा उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न कडा निर्देशन दिए।

एउटा स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट र असल अभ्यासहरूलाई अन्य संस्थाहरूले पनि साझेदारी र सिकाइका माध्यम बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले विभिन्न प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी कानुनबमोजिम समाधानका लागि पहल गरिने आश्वासन दिए।

उक्त छलफलका क्रममा सहभागी उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा सुधार, अस्पतालको सरसफाइ, विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार, दक्ष स्वास्थ्य जनशक्तिको व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन र पूर्वाधार विकासका सम्बन्धमा आ-आफ्ना महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।

उनीहरूले स्वास्थ्य सेवामा ‘डिजिटल’ रूपान्तरण र अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयनका साथै केही प्रतिष्ठानको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको गम्भीर प्रभावबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराएका थिए।

उक्त महत्त्वपूर्ण बैठकमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायणसिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्यको सहभागिता रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार