२२ चैत, काठमाडौं । इरानमा पक्राउ परेका उदयपुरका ३३ वर्षीय नेपाली अमृत झाको मुद्दा हाल इरानी अदालतमा विचाराधीन छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार झासम्बन्धी प्रक्रिया अब पूर्णरूपमा अदालतको निर्णयमा निर्भर भएको छ ।
झा यूएईस्थित कम्पनी ब्ल्याक सी मरिन एलएलसीको स्वामित्वमा रहेको पानीजहाजका चालकदल सदस्यका रूपमा कार्यरत थिए । उनलाई इरानको सुरक्षा निकाय इस्लामिक इरान रेभलुसनरी गार्डले ‘स्ट्रेट अफ होर्मुज’ नजिकैबाट नियन्त्रणमा लिएको थियो । उनीसँगै केही भारतीय नागरिक पनि पक्राउ परेका थिए ।
प्रवक्ता क्षेत्रीका अनुसार यो ‘व्यक्तिगत (इन्डिभिजुअल) केस नभई जहाजसँग सम्बन्धित विषय’ हो । जहाज इरानको सामुद्रिक क्षेत्रभित्र प्रवेश गरेको र त्यहाँ अनुमति नपाइने प्रकारका सामग्री रहेको आशंकामा नियन्त्रणमा लिइएको भन्ने अपुष्ट जानकारी आएको उनले बताए । यद्यपि, वास्तविक कारण अदालतले नै टुंग्याउने छ ।
झाको अवस्थाबारे सरकारले नियमित जानकारी लिइरहेको छ । इरानका लागि नेपालको अनररी कन्सुल जनरल साहराम शान्तीई मार्फत एक इरानी वकिलको व्यवस्था गरिएको छ, जसले भारतीय र नेपाली दुवै नागरिकको पक्षमा बहस गरिरहेका छन् ।
वकिलले झालाई भेटेर उनको अवस्था सामान्य र सुरक्षित रहेको जानकारी दिएको मन्त्रालयले जनाएको छ ।
‘खानपिन लगायत सबै आधारभूत सुविधा ठिक छ, उहाँ सकुशल हुनुहुन्छ,’ प्रवक्ता क्षेत्रीले भने ।
मुद्दाको फैसला ढिलाइ हुनुका विभिन्न कारण देखिएका छन् । जसमा इरानको वर्तमान परिस्थिति प्रमुख देखिएको छ । त्यहाँ युद्धजन्य अवस्था, ‘नौरोज’ (इरानी नयाँ वर्ष) पर्व र केही भौतिक पूर्वाधारमा क्षति तथा आवागमनमा अवरोध जस्ता कारण अदालती प्रक्रिया प्रभावित भएको देखिन्छ ।
झालाई के सजाय हुन्छ भन्नेबारे भने अहिले नै केही भन्न नसकिने मन्त्रालयको भनाइ छ । ‘कुन प्रकृतिको अपराध हो भन्ने आधारमा अदालतले निर्णय गर्ने भएकाले हामीले पूर्वानुमान गर्न सक्ने अवस्था छैन,’ प्रवक्ता क्षेत्रीले स्पष्ट पारे ।
नेपाल सरकारका तर्फबाट कूटनीतिक माध्यम मार्फत निरन्तर सम्पर्क र पहल भइरहेको जनाउँदै उनले अदालतको अन्तिम निर्णयपछि मात्र आगामी प्रक्रिया अगाडि बढ्ने बताए ।




प्रतिक्रिया दिनुहोस्