बाजुरामा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएको छ। बडीमालिका नगरपालिका–१ सल्लेनाकीकी २१ वर्षीया सुरता कुमारी रोकाया र उनले जन्म दिएको शिशुको ज्यान गएको हो।
रोकायाले केही दिनअघि जिल्ला अस्पताल बाजुरामा शिशु जन्माएकी थिइन्। सुत्केरीपछि आमा र शिशुको स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो। उपचारकै क्रममा चैत ५ गते शिशुको र चैत ७ गते बेलुकी आमाको मृत्यु भएको जनाइएको छ।
अस्पतालका अनुसार रोकाया मुटुसम्बन्धी समस्याबाट पीडित थिइन् र यसअघि नै बच्चा जन्माउन जोखिम रहेको सुझाव दिइएको थियो। उन्नत आईसियु सुविधा अभावका कारण उपचारमा कठिनाइ भएको बताइएको छ।
परिवारको सहमतिमा आमा र शिशुको अन्त्येष्टि सुर्खेतमै गरिएको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।




प्रतिक्रिया दिनुहोस्