-1772253460.png)
धनुष– धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो।
गत फागुन १४ गते बिहीवार अपरान्ह करिव ४ बजे औरही गाउँपालिका–६, चक्करस्थित भित्री सडक खण्डभन्दा ३०० मिटर पूर्व मसुरी खेतमा एक युवकको शव फेला परेको थियो।
घाँटी रेटिएको अवस्थामा फेला परेको उक्त शवको पहिचान धनुषाकै हंसपुर नगरपालिका–९, बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलको रूपमा भएको छ। उनी सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक सुमित र हंसपुर नगरपालिका–६, सोनिगामा बस्ने १७ वर्षीया काजल कुमारी मण्डलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। फागुन १३ गते साँझ काजलले घरमा कोही नभएको मौका छोपी सुमितलाई भेट्न बोलाएकी थिइन्। सोही क्रममा काजलका परिवारका सदस्यहरूले उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि विवाद सुरु भएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुग्मबहादुर कुँवरकाअनुसार सुमितलाई नियन्त्रणमा लिएपछि काजलका दाजु २० वर्षीय दीपेशकुमार मण्डल र काकाका छोरा (दाजु) २९ वर्षीय परमेश्वर मण्डलले भैँसी बाँध्ने डोरीले सुमितको दुवै हात पछाडि बाँधेर आफ्नै मोटरसाइकलमा राखेर घरदेखि करिब डेढ किलोमिटर टाढा मानव बस्ती नभएको मसुरी खेतमा लगिएको थियो। त्यहाँ खुकुरी प्रहार गरी घाँटी रेटेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ।
हत्यापछि अभियुक्तहरूले प्रमाण लुकाउन सुमितको मोटरसाइकल विदेह नगरपालिका–१ स्थित एक साथीको घरमा लुकाएर राखेका थिए। प्रहरीले उक्त मोटरसाइकल, हत्यामा प्रयोग गरिएको धारिलो हतियार (खुकुरी) र हात बाँध्न प्रयोग गरिएको डोरीसमेत बरामद गरेको छ। पक्राउ पर्नेहरूमा मृतककी प्रेमिका काजल कुमारी मण्डल, उनका दाजु दीपेशकुमार मण्डल र दाजु परमेश्वर मण्डल रहेका छन्। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ।
धनुषामा पछिल्लो समय भएका ६ वटा हत्याका घटनामध्ये ४ वटाको सफल अनुसन्धान गरी संलग्नहरूलाई कानूनी दायरामा ल्याइसकिएको र बाँकी दुईवटा घटनाको पनि सुक्ष्म अनुसन्धान भइरहेको एसपी कुँवरले जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्