आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालको प्रदर्शन राम्रो हुन सकेन। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा समूह ‘सी’ मा नेपालले लगातार तीन खेलमा पराजय भोग्यो। लागतार तीन खेलको पराजयले नेपाल समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ।
पहिलो खेलमा नेपालको इंग्ल्यान्डविरूद्धको प्रदर्शन ठिकै थियो। १८५ रनको लक्ष्य पछ्याएको नेपालले १८० बनाउन सक्यो भने चार रनले पराजित भयो। तर इटालीसँग नेपाल १० विकेटले पराजित भयो। १२३ रनमै अलआउट भएको नेपालको ब्याटिङ कुनै पनि बेला ठिक थिएन।
आइतबार वेस्ट इन्डिजविरूद्धको तेस्रो खेल पनि नेपालको ब्याटिङ जमेन। दीपेन्द्रसिंह ऐरीबाहेक नेपालका कुनै ब्याटर चल्न नसक्दा नेपालले १३३ रन मात्र बनाउन सक्यो। यो लक्ष्य वेस्ट इन्डिजले एक विकेटको क्षतिमा सजिलै पूरा गरिदियो।
यसरी लगातार पराजय भएपछि हारको कारण खोजिनु स्वभाविकै छ। इटालीपछिको खेलपछि प्रशिक्षक स्टुअर्टले नेपाली खेलाडीले सामाजिक सञ्जालमा केन्द्रीत भएको भनेर आलोचना गरेका थिए। यो विषयमा उनलाई प्रश्न नसोधिए पनि उनले आफै प्रसंग उठाएर सामाजिक सञ्जाल प्रयोगको आलोचना गरेका थिए। साथै उनले सामाजिक सञ्जाल प्रयोगको विषयलाई ‘ननसेन्स (वाहियात)’ समेत भनेका थिए।
यो पनि : कप्तान रोहितको विपरीत ‘बोल्ड’ टिप्पणी गरेका प्रशिक्षक ल
हुन त कप्तान रोहितकुमार पौडेलले त्यसअघि सामाजिक सञ्जाल प्रयोग गर्नु कुरा व्यक्तिगत भएको धारणा दिएका थिए।
प्रशिक्षणको आलोचनापछि भने तीन खेलाडीले सामाजिक सञ्जाललाई संकेत गर्दै प्रतिक्रिया दिएका छन्। तीनै खेलाडीले प्रतियोगिताको बेला सामाजिक सञ्जालबाट टाढा रहुन पर्ने बताएका हुन्।
वेस्ट इन्डिजविरूद्धको खेलपछि सोमपाल कामीले सामाजिक सञ्जालबाट टाढा रहनु पर्ने बताए। नेपालका लागि तीन वटा विश्वकप खेलेर इतिहास रचेका सोमपालले सामाजिक सञ्जाल र खेल फरक कुरा भएको तथा खेलमै बढी केन्द्रीत हुनु पर्ने बताए। सन् २०१४ को विश्वकप खेलेका सोमपालले सन् २०२४ र २०२६ को गरी तीन विश्वकप खेलेर इतिहास रचेका हुन्। अघिल्ला दुई खेलमा प्लेइङ-११ मा स्थान नबाएका सोमपालले आइतबार भने प्लेइङ-११ स्थान बनाएर इतिहास रचेका थिए।
इतिहास बनाएपछि वानखेडे रंगशालाको प्रेस रुपमा उनले सामाजिक सञ्जालको विषयमा प्रशिक्षसँगको धारणासँग सहमत भए।
‘कोचले भनेको कुरा एकदम सही छ। हाम्रा धेरैजसो युवा खेलाडीहरू राम्रो प्रदर्शन गर्दा इन्स्टाग्राम वा फेसबुकमा गएर राम्रा कमेन्टहरू पढ्छन्। तर क्रिकेट खेलाडी वा खेलकुदमा लाग्ने मानिसको लागि हरेक दिन राम्रो हुँदैन। जब तपाईं खराब महसुस गर्नुहुन्छ, तब सामाजिक सञ्जालमा नजानु राम्रो हुन्छ भन्ने मलाई लाग्छ,’ सोमपालले भने, ‘म आफैंले खेल बेला कहिल्यै सामाजिक सञ्जाल हेर्दिनँ। त्यसैले सामाजिक सञ्जालबाट टाढा रहनु नै राम्रो हो। तर अहिले सबैलाई राम्रा कमेन्ट, राम्रा फोटो र फलोअरहरू चाहिन्छ। जीवन पूरै डिजिटल भइसकेको छ, त्यसैले सबैले फलोअर बढाउन खोज्छन्। तर मेरो विचारमा यो सबै व्यक्ति आफैंमा निर्भर गर्छ उसले कसरी लिन्छ भन्ने कुरामा। खेलाडीको लागि हरेक दिन नयाँ दिन हो। कहिले मानिसहरू आएर तिम्रो बारेमा राम्रो लेख्छन्, भोलिपल्ट त्यही मानिसहरू आएर नराम्रो लेख्छन्। त्यसैले सामाजिक सञ्जालबाट टाढा रहनु पर्छ भन्ने मलाई लाग्छ।’
सोमपालपछि मिक्स जोनमा अलराउन्डर गुल्सन झा आएका थिए। जहाँ पत्रकारसँग कुरा गर्दै गुल्सनले आफ्नो प्रदर्शन सन्तुष्टि जनाउन नसक्ने बताए। साथै उनले सामाजिक सञ्जालको विषयमा सोधिएको प्रश्नमा पनि उत्तर दिए।
‘अरूको कुरा थाहा भएन, तर म चाहिँ प्रतियोगिताको क्रममा यो कुरालाई बेवास्ता नै गर्छु, म शान्तसँग बस्न चाहान्छु। खेलाडीको हरेक दिन उस्तै हुँदैन। जो खालडीको प्रदर्शन तलमाथि भइहाल्छ। कुनै खेलमा स्कोर भएन भने अर्को खेलमा फर्कन सक्छ। सामाजिक सञ्जाल र आफ्नो क्रिकेटिङ जीवनलाई जोड्न भएन,’ गुल्सनले भने।
यता कप्तान रोहितकुमार पौडेलले पनि खेलको बेला बाहिरका कुरामा ध्यान दिनु पर्ने बताएका छन्। उनले खेलपछिको पोस्ट म्याच प्रिजेन्टनसमा यस्तो बताएका हुन्।
‘यदि खेलाडीहरूले बाहिरका कुरा सुने भने उनीहरूका लागि राम्रो प्रदर्शन गर्न गाह्रो हुन्छ। जब टिम हारिरहेको हुन्छ, सबैलाई सकारात्मक राख्नु अत्यावश्यक हुन्छ, र हामी त्यही प्रयास गरिरहेका छौं,’ उनले भने।
आइसिसीको टी-२० विश्वकपको समयमा खेलाडीलाई सामाजिक सञ्जालको प्रयोगमा कुनै रोक लगाएको छैन। तर कुनै भेदभावपूर्ण र विवादित कुरा भने पोस्ट गर्न पाइदैन।
महत्वपूर्ण प्रतियोगिताको बेलामा विश्वका विभिन्न देशका क्रिकेट बोर्डले सामाजिक सञ्जालको आचार संहिता बनाउने गर्छन्। खेलाडीले आफ्नो ब्रान्ड प्रमोसन गर्न पाउन सक्ने बोर्डका नियम हुन्छन्।
नेपालको हकमा नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक रुपमा कुनै नियम बनाएको छैन। केही वर्षअघि क्यानले सामाजिक सञ्जाल प्रयोगको नियम बनाउने खोजे पनि त्यसलाई लागू गर्न सकिरहेको छैन।




प्रतिक्रिया दिनुहोस्