काठमाडौँ : गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अशिष्ट कमेन्ट र गालीगलौज गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी भइरहेको ब्युरोका सूचना अधिकृत प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । गायिका चौहानले यसअघि साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गर्नेविरूद्ध उजुरी दिएकी थिइन् । त्यसमध्ये एकजना समातिएको अवस्थीले जानकारी दिए ।
पक्राउ परेका राई कवि पनि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानले हालै आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा उनी शीर्ष २५ स्थानमा पुगेका थिए । एलिनाले अभद्र र अश्लील कमेन्ट गर्नेहरुको कमेन्ट र म्यासेज सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएकी छन् ।
एलिनासँगै गायिका समीक्षा अधिकारीले पनि सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेकी छन् । उनीहरुको यो कार्यको प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले समेत प्रशंसा गरेका थिए ।
प्रतिक्रिया दनुहोस्