काठमाडौं : अप्रत्याशित रूपमा शुरु भएको इरान–इजरायल युद्ध १२ दिनपछि नाटकीय रूपमा टुंगिएको घोषणा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपक्षीय रूपमा इरान–इजरायल युद्धमा युद्धविरामको घोषणा गरेको केही घण्टापछि मात्रै दुई देशको उच्च नेतृत्वले त्यसलाई स्वीकार गरेका हुन् । ‘युद्धविराम’ घोषणा गरेको केही घण्टापछि सम्म पनि दुई देशका सेनाले एकअर्का माथि क्षेप्यास्त्र प्रहार गरेपनि मंगलबार रातिदेखि युद्धविराम कार्यान्वयन भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानबाट इराजायलका सबै विमानहरू फर्किएको बताइएको छ । युद्धविराम लागू भएपछि इरानको सेनाले भने कुनै आक्रमण नगरेको इरानी सरकारी समाचार संस्थाले जनाएका छन ।
इजरायल र इरान १२ दिनको युद्धपछि युद्धविराममा सहमत भएको समाचारप्रति विश्व नेताहरूले ‘सतर्कतापूर्वक आशावादी’ रहेको प्रतिक्रिया जनाएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री एस पेस्कोभले क्रेमलिनले युद्धविराम टिकाउ साबित हुनेमा आशावादी रहेको बताए । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युद्धविराममा सहमति भएको ट्रम्पको घोषणाको प्रशंसा गरेका छन् ।
यस्तै, जर्मनीका चान्सलर फ्रेडरिक मर्जले पनि ट्रम्पको घोषणाको स्वागत गरेका छन् । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमानले भने कतारका आमिरले युद्धविरामका लागि वार्ता गर्न मद्दत गरेको दाबी गरेका छन् । साउदी अरेबियाको विदेश मन्त्रालयले पनि एक विज्ञप्तिमा युद्धविरामको घोषणालाई स्वागत गरेको छ ।
इरान–इजरायलबीच चलेको १२ दिनको युद्धमा करिब ७०० इरानी मारिएका छन् भने इजरायल तर्फ २८ जना मारिएका छन् । दुवैतर्फ घाइते हुनेको संख्या भने हजार माथि नै छ । इजरायलको आक्रमणले इरानमा भौतिक रूपमा पनि ठूलो क्षति पुगेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दनुहोस्