मुगु । मुगुमा पछिल्लो समय जडिबुटी उत्पादनमा कमी आएको छ । जडिबुटीको जिल्लाका रुपमा प्रख्यात मुगुको पाटनक्षेत्र र सामुदायिक वनमा जडिबुटी कम पाइन थालेपछि यसैमा आत्मनिर्भर स्थानीयको आम्दानी घटेको छ ।
स्थानीयका अनुसार मुगुको सोरु गाउँपालिका, खत्याड गाउँपालिका, छायाँनाथ रारा नगरपालिका र मुगमकार्मारोग गाउँपालिकामा पर्ने सामुदायिक वन र पाटनक्षेत्रमा गुच्चि च्याउ, कटुकी, यार्सागुम्बा, अतीस, वन लसुन, बिषजरा, पदमचाल, सेतक चिनी, सुगन्धवाल, सुनपाती, पाँचऔले, सतुवाजस्ता जडिबुटी पाइने गर्थ्यो । तर पछिल्लो सयमा उक्त क्षेत्रमा जडिबुटी साह्रै कम मात्रामा पाइन थालेको स्थानीयहरुले बताएका छन् ।
पर्याप्त मात्रामा जडिबुटी नपाइएपछि दैनिक गुजारा चलाउनै मुस्किल परेको स्थानीयहरुले बताएका छन् ।
आफूहरुको आम्दानीको मुख्य स्रोत नै जडिबुटी भए पनि उत्पादनमा कमी आएपछि समस्यामा परेको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ का स्थानीय धर्म बहादुर ऐडीले बताएका छन् । ‘जडिबुटी बिक्रीबाट घरखर्च चलाउँदै आएका थियौँ । तर अहिले जडिबुटीको उत्पादनमा कमी आएको छ’, उनले भने, ‘जडिबुटी नै पाउन छोडेपछि परिवार पाल्नकै लागि अब भारत जानुपर्ने अवस्था आएको छ ।’
त्यस्तै सोही नगरपालिका १० का स्थानीय विर्ष बहादुर बुढाले पनि पछिल्लो समय मुगुको पाटन र वनजंगलमा जडिबुटी पाउने छोडेको बताएका छन् । आम्दानीको मुख्य स्रोतमै खडेरी लागेपछि पढाईका लागि सुर्खेत पठाएको छोरालाई पुनः फिर्ता बोलाउने तयारी रहेको उनले बताएका छन् ।
प्रतिक्रिया दनुहोस्