काठमाडौं : फागुन २ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘रंगी’को शीर्ष गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक गीतमा आमेश भण्डारीको संगीत छ ।
गायनमा भण्डारीसँग समीक्षा अधिकारीले सहकार्य गरेकी छन् । गीतको भिडियोमा कलाकार सलोन बस्नेत र मलिका महत फिचर्ड छन् । भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै सार्वजनिक गीत रोमान्टिक शैलीको छ ।
यसअघि निर्माताले फिल्ममा मलिकाले अभिनय गरेकोबारे खुलाएका थिएनन् । भिडियोमा चिया बेच्दै हिँडेकी युवतीसँग युवकको भेट र त्यसपछि अंकुराएको प्रेमलाई चित्रण गरिएको छ ।
निर्माताले अहिलेसम्म मलिकालाई फिल्ममा गोप्य राखेका थिए । गीतमा उनको चित्रणले फिल्मको चरित्र चित्रणमा महत्वपूर्ण खुलासा गरेको छ । फिल्ममा सलोनले निर्वाह गरेको पात्रको श्रीमती को हुन्छन् भन्नेबारे बताइएको थिएन । मेकरले डेब्यु अभिनेत्री नम्रता श्रेष्ठलाई मात्र चित्रण गर्दै आएका थिए ।
गीतमा कविराज गहतराजको नृत्य निर्देशन छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको फिल्ममा दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
प्रतिक्रिया दनुहोस्