धनगढी : धनगढीमा कालोपत्रे भइसकेका सडकका बीच भागमा ठिङ्ग उभिएका रुखहरु ‘ज्यानमारा’ साबित हुँदै गएपछि रुखहरु कटान हुन थालेका छन् । सडक बिचमा रहेका उक्त रुखकै कारण धेरैले ज्यान गुमाइसकेका छन् ।
मुख्यत धनगढीदेखि प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बेडहाबाबा मन्दिर जाने सडक लगायत धनगढी उपमहानगरपालिकाको चक्रपथ तथा तुलसीपुर–भगवती टोल सडक, जाली–उत्तरखिम्लिना सडक, पिपल चौतारा–जाई–मट्यारी सडकहरूमा रहेका उक्त जोखिमयुक्त रुखहरू कटान गर्दै आएको छ। डिभिजन वन अधिकृत संयोजक, जिल्ला प्रशासन, मालपोत, नापी, प्रहरी कार्यालय र वडाध्यक्ष सदस्य रहेको समितिले धनगढीका सडकहरूमा जोखिमयुक्त रुखहरू कटान गर्दै आएको हो ।
वन नियमावली, २०७९ को दफा ३६ मा भएको व्यवस्था अनुसार धनगढीका सडक तथा सरकारी कार्यालयहरूको रुख कटानी गरिएका हुन। धनगढी उपमहानगरपालिका–४, ५ र ७ को सडक क्षेत्रमा रहेका ८५ रुखहरू कटानी गरिएका छन्। सब डिभिजन वन कार्यालय, तारानगरका प्रमुख किशोर धामीले वन नियमावली, २०७९ अनुसार रुख कटानी थालिएको बताएका छन् । उनका अनुसार ‘बाटोतथा कार्यालयका रुखहरू सिफारिसको आधारमा कटान गरिन्छ । कुनै पनि सार्वजानिक स्थल जहां जोखिमयुक्त, दुर्घटना हुने, ठाउंका रुखहरू वडा कार्यालय र वन कर्मचारीको रोहबरमा कटानी हुन्छ। र सुरक्षित स्थानमा घाटगदी हुन्छ ।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी वन क्षेत्रको सडकका ३६ वटा रुखहरू कटानी गरिएको छ। वडा नम्बर ५ को सडक क्षेत्रका ३५ वटा रुखहरू कटानी गरिएका छन्। वडा नम्बर ७ का सडकका १४ वटा जोखिमयुक्त रुखहरू कटानी गरिएका छन्। धनगढी–१३ का सडकमा रहेका रुख कटानीको प्रक्रिया थालिएको छ। हाल यातायात व्यवस्था कार्यालय, तुलसीराम माध्यमिक विद्यालय, पशु सेवा तालिम केन्द्र लगायतका सरकारी कार्यालय परिसरहरूमा रहेका जोखिमयुक्त रुख कटानीको काम हुँदैछ।
सङ्घीय सहरी विकासले कालोपत्र गरेका धनगढीका सडकहरूमा २८४ रुखहरू थिए। रुख परेका क्षेत्रमा सडक कालोपत्रसमेत गरिएको छैन। वन नियमावली, २०७९ जारी भएसँगै सडक क्षेत्रका रुख कटानीको काम थालिएको हो। सडक क्षेत्रका रुख कटानीको काम गरेर सब डिभिजन वन कार्यालय वा सुरक्षित स्थानमा जम्मा गर्ने गरिएको छ। लामो समयदेखि रुखका कारण धनगढी नगरबासिले झेल्दै आएको जोखिम न्यूनिकरण हुने भएको छ ।
प्रतिक्रिया दनुहोस्