वित्तीय प्रणालीबाट एक खर्ब खिच्दै राष्ट्र बैंक

४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट एक खर्ब रुपैयाँ खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता भए पनि केन्द्रीय बैंकले ५६ दिने अवधिको निक्षेप संकलन उपकरण मार्फत सो रकम खिच्न लागेको हो ।

बुधबार मात्रै ४० अर्ब रुपैयाँ बराबरको ५६ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको बैंकले शुक्रबार पनि सोही अवधिका लागि खिच्न लागेको हो । राष्ट्र बैंकका अनुसार बुधबारसम्ममा वित्तीय प्रणालीमा करिब ७६ अर्ब तरलता रहेको छ ।

तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेका पैसा परिपक्व हुने भएपछि त्यसलाई फेरि खिच्नका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा पैसा राख्छन् ।

निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत पैसा पठाउँछ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार