नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासबाट डा. शेखर कोइराला निस्किएका छन् । उनी बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजालसहित करिब ४५ मिनेट देउवासँग छलफल गरेर निस्किएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
देउवाले आजै ३ बजे आफूनिकटका केन्द्रीय सदस्यहरूको बैठक राखेका छन् । उक्त बैठक सुरु हुनुअघि कोइरालासहितका नेताहरूसँग देउवाले छलफल गरेका हुन् ।
देउवासँगको भेटमा कोइरालाले गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरेलगायत नेताहरूलाई फर्किने बाटो दिनुपर्ने बताएका छन् । उनले आजै बस्ने केन्द्रीय समितिको बैठकले कारबाही गर्न नहुने भन्दै भरसक मिलाउने उपाय खोज्न आग्रह गरेका छन् ।
देउवा पनि आजै कारबाही गरिहाल्ने मुडमा नभएको ती नेताले जानकारी दिए । सकेसम्म मिलाएर जाने र मध्यमार्गी बाटो खोज्नका लागि लचकता अपनाउने कुरा देउवाबाट आएको उनले शिलापत्रलाई जानकारी दिए ।
अहिले महाराजगञ्जमा झन्डै ८० केन्द्रीय सदस्य भेला भइसकेको जानकारी पनि उनले दिए ।




प्रतिक्रिया दिनुहोस्