धनगढी । किङ्गस लाउन्ज क्यासिनोले कानूनविपरीत क्यासिनो सञ्चालन गरेको पाइएको छ । धनगढीको साथी होटलभित्र रहेको उक्त क्यासिनो कानूनविपरीत सञ्चालन भइरहेको पाइएको हो ।
देखाउनका लागि प्रशासनबाट लिएको लाइसेन्स भए पनि क्यासिनोमा हुने हर्कत र गतिविधि पूणतः कानूनविपरीत छन् ।
हातले खेलाउँछन् कार्ड, ग्राहक लोभ्याउन महिलाको फोटो प्रयोग
उक्त क्यासिनोमा हातले कार्ड खेलाइन्छ । कल २४ न्युजले गरेको रिपोर्टिङका क्रममा पनि किङस लाउन्जमा हातले कार्ड खेलाइने गरेको तथ्य फेला परेको छ । जुन कुरा स्वयम क्यासिनोका प्रतिनिधिहरुले समेत स्वीकारेका छन् । तर, क्यासिनोमा यसरी हातले कार्ड खेलाउनु कानूनविपरीत मानिन्छ । २०८२ असार ३० गते प्रकाशित नेपाल राजपत्र ९भाग–३० मा गरिएको व्यवस्था अनुसार साना क्यासिनोमा आधुनिक मेशिन वा विद्युतीय माध्यमबाट मात्र कार्ड खेलाउनुपर्छ ।
तर किङ्स लाउन्जमा भने हातले कार्ड खेलाउने गरिन्छ । जुन कानूनविपरीत छ । तर प्रशासन नै मुुठ्ठिमा छ भन्ने दम्भ राख्नेहरुले अहिले पनि खुलेआम कानूनको उल्लंघन गरेर क्यासिनो चलाइरहेका छन् ।
अर्कोतर्फ किङ्स लाउन्जले ग्राहक तान्न महिलाहरुको फोटोहरु समेत प्रयोग गर्ने गरेको पाइएको छ । कल २४ न्युजले प्राप्त गरेको प्रमाण अनुसार क्यासिनो भित्र टेबल चलाइरहेका एक व्यक्तिले ह्वाट्सएपमार्फत महिलाको फोटोहरु पठाएर ग्राहक तान्ने गरेको खुलेको छ । ती व्यक्तिले ‘डान्स पार्टी सब छ है आज’ भन्दै ह्याट्सएपमार्फत फोटोहरु पठाउने गर्छन् र महिलाको फोटो प्रयोग गरेर गैरकानूनी तरिकाले ग्राहकलाई प्रलोभनमा पार्छन् ।
यसै पनि क्यासिनो सञ्चालन गर्दा ग्राहक तान्नकै लागि गरिने यस्ता गतिविधिलाई अपराधका रुपमा व्याख्या गरेको छ । अर्थात किङ्स लाउन्जले जे गरिरहेको छ, कानून अनुसार त्यो अपराध हो ।
नेपाली ग्राहक भित्र्याएको आरोप
त्यस्तै किङ्स लाउन्जले नेपाली ग्राहक भित्राउने गरेको आरोप लागेको छ ।
स्रोतले दिएको जानकारी अनुसार क्यासिनोले केही नेपालीलाई क्यासिनोमा प्रवेश दिने गरेको छ । तर, क्यासिनो व्यवस्थापनले भने उक्त कुरा अस्वीकार गरेको छ ।
यद्यपि ‘त्यस्तो होइन भने सिसिटिभी फुटेज हेरौँ न’ भन्ने हाम्रो प्रश्नपछि क्यासिनोमा भएको सिसिटिभी फुटेजको ब्याकअप तीन दिनसम्म मात्र हुने भन्दै व्यवस्थापन पन्छिन खोज्यो । यसो त कानून अनुसार पनि क्यासिनोहरुले कम्तीमा ३० दिनको सिसिटिभी फुटेज रेकर्ड सुरक्षित राख्नुपर्छ तर क्यासिनोले ३ दिनको मात्र फुटेज ब्याकप छ भनेपछि यसले यस्तो अनधिकृत कार्यमा क्यासिनो संलग्न छ र प्रमाण लुकाउन खोजिँदैछ भन्ने आरोपमा थप बल पुगेको छ ।
यता डिभोटी होटलभित्र सञ्चालित सिएमजी क्लबमा पनि हातैले कार्ड खेलाउने गरेको पाइएको छ । करिब ६ महिनाअघि सञ्चालनमा आएको उक्त क्यासिनोले नेपाली नागरिकलाई प्रवेश निषेध गरेको छ । तर क्यासिनोले हातैले कार्ड खेलाउने गरेको पाइएको छ । कल २४ न्युजले गरेको रिपोर्टिङका क्रममा सिएमजी क्लबका प्रतिनिधिले प्रारम्भीक चरणमा भए पनि हाल कानून अनुसार नै खेल सञ्चालन गरिरहेको बताएका छन् ।
अर्थात धनगढीका यी दुई प्रमुख क्यासिनो (किङ्स लाउन्ज र सिएमजी क्लब) ले क्यासिनो नियमावली २०७० र नेपाल राजपत्र २०८२ मा उल्लेखित मापदण्डहरूको उल्लंघन गरेको स्पष्ट देखिन्छ ।
के भन्छ प्रशासन ?
यता हामीले कानूनविपरीत सञ्चालन भइरहेका क्यासिनो र किङ्स लाउन्समा हुने आपराधिक गतिविधिका विषयमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई पनि सोधेका छौँ । उनले हालसम्म क्यासिनोबारे आधिकारिक रुपमा उजुरी दर्ता नभए पनि त्यसरी क्यासिनो सञ्चालन गर्नु गम्भीर विषय भएको बताएका छन् ।
कल २४ न्युजले जानकारी गराएपछि प्रशासनले प्रारम्भीक रुपमा बुझ्न प्रहरीलाई निर्देशन दिइसकेको छ । ‘यदि कानून उल्लंघन गरेको प्रमाण भेटियो भने कडा कारवाही हुन्छ’, जोशीले कल २४ न्युजसँग भने ।
प्रतिक्रिया दिनुहोस्