काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको दाबी गरेका छन् ।
विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसका केही अवशेष अझै बाँकी रहेको उल्लेख गर्दै उनले अब त्यो सम्भावना नरहेको जिकिर गरे ।
‘मैले बारम्बार भनेको छु, यो पार्टीलाई विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्र्नुुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन,’ लिङ्देनले न्युज एजेन्सीसँगको कुराकानीका क्रममा भनेका छन्, ‘राष्टिय प्रजातन्त्र पार्टीमा लामो समयदेखि एउटा प्रवृति थियो । जो चित्त नबुझ्ने बित्तिकै अर्को पार्टी खोलिहाल्ने, फुटाइहाल्ने । त्यो प्रवृत्तिको अवशेष देखिने कोशिस गर्छ तर अब त्यो सम्भावना पनि छैन ।’
लिङ्देनले पार्टीभित्र देखिएका समस्या सेर समाधान गर्ने, चित्त नबुझेका विषयहरू पार्टीका समितिमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्ष सबैले मिलेर जानुपर्ने बताए ।
समितिहरूबाट आफ्ना कुरा पारित हुन नसके वा चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथि चुनौती दिन सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्