काठमाडौं : श्रीलंकामा नेपाली पर्यटनको प्रवर्द्धन गरिएको छ । श्रीलंकास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘लुम्बिनी एण्ड वियोण्ड’ नाराका साथ नेपाल गन्तव्य प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।
नेपालको दीगो पर्यटन प्रवर्द्धन, नेपाल र श्रीलंका बीच द्विपक्षीय सांस्कृतिक एवम जनस्तरको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ । सोमबार कोलोम्बोस्थित सांग्रिला होटलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा श्रीलंकाका लागि नेपाली राजदूत डा. पूर्णबहादुर नेपालीले नेपाल र श्रीलंकाबीचको गहिरो ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धमाथि जोड दिए । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र विरासतले यी दुई देशलाई जोडेको उनको भनाइ छ ।
नेपाल पर्यटन बोर्डले सो अवसरमा पोखरा, सगरमाथा र अन्नपूर्ण आधार शिविर, चितवन, तथा भक्तपुर र पाटनजस्ता सम्पदा सहरबारे विस्तृत मल्टिमिडिया प्रस्तुति दिएको थियो ।
यो अभियानको उद्देश्य तीर्थयात्रा सर्किट, पर्वतीय साहसिक भ्रमण, ध्यान र सांस्कृतिक अनुभवजस्ता गतिविधि प्रवर्द्धन गरी श्रीलंकाली पर्यटक आकर्षित गर्नु रहेको समेत दूतावासले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्