काठमाडौँ : भारतको उत्तर प्रदेश राज्यको जौनपुरका वरिष्ठ इन्जिनियर अतुल सुभाषको जस्तै घटना आगरामा पनि घटेको छ । एक प्रबन्धकले आफ्नी श्रीमतीबाट दुर्व्यवहार भएको भन्दै भिडिओ बनाएर आत्महत्या गरेका छन् । ती प्रबन्धकले घाँटीमा पासो लगाएर भिडिओ बनाएपछि झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले आफ्नी श्रीमतीले आफ्नो चरित्रमाथि शङ्का गरेको र दुर्व्यवहार गरेको आरोप लगाएका छन् । यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
थाना सदर क्षेत्रको डिफेन्स कोलोनीका निवासी मानव शर्मा टीसीएस कम्पनीमा भर्ती प्रबन्धकको रूपमा कार्यरत थिए । मानवको यो भिडिओ २४ फेब्रुअरीको भएको बताइएको छ । भिडिओमा उनले भनेका छन्, “कसैले पनि पुरुषको कुरा सुन्दैनन् र आफ्नी श्रीमतीसँग दिक्क भएकाले आत्महत्या गरिरहेका छन् ।”
मानव शर्माले रुँदै र घाँटीमा पासो लगाएर यो भिडिओ बनाएका छन् । यसमा उनले आफ्नी श्रीमतीको उत्पीडनबाट दिक्क भएको बताएका छन् । श्रीमतीले आफूमाथि निरन्तर यातना र चरित्रमा शङ्का गर्ने गरेको उनको आरोप छ । मानवको मृत्युपछि बैङ्गलोरका एआई इन्जिनियरको मृत्युको घटना फेरि एकपटक ताजा भएको छ । भिडियो भाइरल भएपछि अब प्रहरीले पनि अनुसन्धान तीव्र बनाएको छ ।
भिडिओमा मानवले भनेका छन्, “कानुनले पुरुषहरूको सुरक्षा गर्नुपर्छ । न्यायाधीश महोदय, कृपया ती मानिसहरूलाई बचाउनुहोस्, नत्र कोही पनि बच्ने छैनन्, त्यसपछि कसलाई दोष दिनुहुन्छ ?” अर्कोतर्फ, मानवकी श्रीमती निकिता शर्माको पनि बयान आएको छ । जारी भिडिओमा मानवले लगाएका आरोपहरू विगतको भएको उनले दाबी गरेकी छन् ।
“यो मेरो विवाह हुनुभन्दा पहिलेको कुरा हो । विवाहपछि यस्तो केही भएन । उसले रक्सी पिउन थाल्यो । ऊ मलाई पनि पिट्थ्यो । मैले उसलाई धेरै पटक झुण्डिनबाट बचाएँ,” निकिताले भनिन्, “जुन रात उनले आत्महत्या गरे, उनले मलाई खुसी साथ घरमा छोडेर गएका थिए ।”
प्रतिक्रिया दनुहोस्