काठमाडौँ । तुलनात्मक रुपमा महँगो भए पनि धनगढीका अभिभावकको रोजाईमा निजी विद्यालय पर्न थालेका छन् । पछिल्लो समय सरकारी विद्यालयमा खस्किँदो शिक्षा प्रणालीका कारण अधिकांश अभिभावकहरुले निजी विद्यालय रोज्न थालेका हुन् ।
अझ केही वर्षयता धनगढीका सरकारी विद्यालयहरुको दयनीय नतिजाका कारण पनि अभिभाकहरुले सरकारी विद्यालयको विकल्पमा निजी विद्यालय रोज्न थालेका छन् ।
बालबालिकाको भविष्य भन्दा ठूलो अरु केही छैन । त्यसैले पनि जानीजानी सरकारी विद्यालयमा भर्ना गरेर बालबालिकाको भविष्य नबिगार्ने भन्दै निजी विद्यालय नै रोजेको उर्मिला कार्कीले बताइन् । उनले सरकारी विद्यालयको कमजोर गुणस्तरकै कारण सरकारीको साटो बालबालिकालाई निजी विद्यालयमा भर्ना गरेको उनले बताएकी छिन् ।
यता त्रिनगर माध्यामिक विद्यालयका प्राध्यापक भूपाल सिंह खड्काले पनि अभिभाकको भनाईमा सहमति जनाएका छन् । उनले सार्वजनिक तथा सरकारी विद्यालयको स्तर खस्किएकै कारण अभिभावकहरुले निजी विद्यालय रोज्ने गरेको स्वीकारेका छन् । निजी विद्यालय अभिभावकको रोजाईमा पर्नुको कारण सार्वजनिक विद्यालयको खस्किँदो स्तर नै हो, उनले भने, अब सरकारले सार्वजनिक विद्यालयको स्तर सुधार गर्न पहल गर्नुपर्छ ।
त्रिनगर माध्यामिक विद्यालय त्यही विद्यालय हो, जसलाई धनगढी उपमहानगरपालिकाले नमुना विद्यालय घोषणा गरेको छ । अभिभावकको माया र विद्यालयको स्तरकै कारण विद्यालय नमुना विद्यालय घोषणा भएको भन्दै प्राध्यापक खड्काले विद्यालयको स्तर झन् बढाउनुपर्ने बताएका छन् । उनले हाल अन्य सार्वजनिक विद्यालयको तुलनामा त्रिनगर माविका विद्यार्थीको चाप बढेको भन्दै भर्ना रोक्नुपर्ने अवस्था आएको बताएका छन् ।
प्रतिक्रिया दनुहोस्