धनगढी : दशैं-तिहार सकिएसंगै गृहजिल्ला फर्किएकाहरु फेरी कर्मथलो फर्किन थालेका छन् । चाडबाड मनाउन भन्दै गाउँ फर्किएकाहरु कर्मथलो फर्किन थालेसंगै अहिले सार्वजनिक यातायातमा यात्रुको चाप बढेको छ ।
योसँगै सुदूरपश्चिमका नौ जिल्ला र देशभरका सात प्रदेश जोड्ने धनगढी बसपार्कमा यात्रुहरुको अत्याधिक भीड लाग्न थालेको छ । यात्रुको अत्याधिक चाप बढेकै कारण बसपार्कमा टिकट पाउनै मुस्किल पर्ने गरेको छ ।
एकातिर बसको टिकट पाउन मुस्किल, अर्कोतर्फ यात्रु ठग्ने प्रवित्तिका कारण यात्रुहरु झनै मर्कामा परेका छन् । यतिसम्म कि एउटा सिटको टिकट काटेर अर्कै सिटमा राख्नेसम्म गर्ने गरेको यारुहरुले गुनासो गरेका छन् ।
त्यस्तै बसपार्कमा यात्रुको चाप बढेपछि यातायात व्यवसायीले मौकामा चौका हान्न खोजेको आरोप यात्रुहरुले गरेका छन् । अन्य समयमा ९ सयमा पाइने टिकटको अहिले १३/१४ सयसम्म असुल गर्ने गरेको यात्रुहरुले बताएका छन् । हरेक वर्ष दशैँ तिहारको समयमा यही प्रवित्ति दोहोरिंदा वर्षैपिच्छे एउटै समस्या भोग्नुपरेको यात्रुहरुले गुनासो गरेका छन् ।
अर्कोतर्फ चाडपर्वका बेला सार्वजनिक यातायातमा खुल्लमखुल्ला लुट चल्दा पनि नियमन गर्नुपर्ने निकाय मौन बस्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । उनीहरुले जनताका समस्याका विषयमा राज्य मौन हुँदा हरेक वर्ष जनताले त्यही नियति भोग्नुपरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्