धनगढी : सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले सुदूपश्चिमका सहकारीमा देशका अन्य सहकारी जस्तो समस्या नभएको बताएका छन् ।
शनिबार राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैलालीको १७औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘राष्ट्रले सहकारीको क्षेत्रमा यति ठूलो क्षति व्यहोरेको छ । सुदूरपश्चिममा स्थानीय स्तरबाट सञ्चालन भएका सहकारीमा केही समस्या भएपनि सम्पत्ति अपचलन गर्ने जस्ता समस्या देखिएका छैनन् ।
उनले बाहिरबाट आएर यहाँ सञ्चालन भएका सहकारीले समस्या उत्पन्न गरेको बताए । मन्त्री थापाले जुन उदेश्य राखेर सहकारी स्थापना भएको हो त्यही उदेश्य अनुसार अगाडि बढ्नुपर्ने बताए । उनले भने ‘अझै सहकारी प्रति सबैको विश्वास बढ्न सकेको छैन् । बैंकभन्दा सहकारीमा सुविधा बढी भएको देखिन्छ । तर पुँजी विकास बैंकमा थन्काउने गरेको देखिन्छ ।’
राज्यको ऐन,कानून अनुसार सहकारी अगाडि बढ्नुपर्ने उनको भनाइ छ । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण सहकारीका केन्द्रीय सञ्चालक समितिका दिप्ती शाहीले केही सहकारीका कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम बन्न गएकोले बताइन् । उनले सहकारी क्षेत्र बचतकर्ताको आशा भरोसा बन्न सक्नुपर्ने बताउँदै सहकारीमा देखिएका समस्याहरु हल गर्न सरकार प्रतिवद्ध भएर लाग्नु पर्ने बताइन् ।
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा सहकारी विभाग प्रमुख रेमन्त गौतमले राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विशेष परिस्थितीमा जन्मिएकोले त्यसको संरक्षण सम्बद्र्धन गर्न आवश्यक रहेको बताए ।
उनले राष्ट्रसेवक सहकारीको दायरा बढाउन आवश्यक रहेकोले ६८ जिल्लामा स्थापना भएका सहकारीलाई एकताबद्ध बनाएर सञ्चालन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा संस्था संस्थापक अध्यक्ष लक्ष्मण खड्का,सल्लाहकारहरु भूपेन्द्र थापा,हरिप्रसाद केसी,जयदेव जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष लोकराज पनेरुको अध्यक्षता भएको साधारण सभाको सञ्चालन तथा वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका सचिव धर्मराज चौधरीले गरेका थिए भने संस्थाकी उपाध्यक्ष कुशुम शर्माले स्वागत मन्तव्य राखेकी थिइन् ।
साधारण सभामा दुई जना जेष्ठ सदस्य,दुईजना नियमित वचत कर्ता,दुई जना असल ऋणी तथा एसइईमा सर्वोत्कृष्ठ अंक ल्याउने दुई जना शेयर सदस्यका सन्ततीलाई सम्मान गरिएको थियो । हाल संस्थामा पाँच सय ९८ जना शेयर सदस्य रहेको तथा तीन करोडभन्दा बढी कारोबार रहेको संस्थाले जनाएको छ । साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्