धनगढी : जीवन सोचे झैँ कहाँ हुँदो रहेछ र ? यात्राको कुन पलमा कस्तो मोड आइदिन्छ पत्तै नहुने । डोटीको आदर्श गाउँपालिका घर भइ हाल कैलालीको ६ लालपुर बस्दै आएकी ४७ वर्षीया सिता साउदको जीवन राम्रै चलिरहेको थियो । माथमा श्रीमान को सुहाग थियो, काखमा बालबच्चा । सुख दु ख गर्दै श्रीमान् श्रीमति खुसी जीवन विताइरहेका थिए ।श्रीमान् भारतमा ज्यालामजदूरी गरेर परिवारमा खुसीका खुड्किला थपिरहेका थिए । सिताले घरव्यवहार चलाएकी थिइन् ।
तर, त्यही खुसीमा दैवको आँखा लाग्यो । ४० वर्षकै उमेरमा सिताको सिउँदो पुछियो । ओठको मुस्कान हरायो, दुई छोरा टुहुरा बने । काम गर्दागर्दै सिताका श्रीमान् भारतमै अस्ताए ।त्यसपछिको जीवन उनका लागि निकै कष्टकर बन्यो । कयौं पटक त प्राण त्याग्न पनि सिताले नखोजेकी होइनन् । बाच्न असहज भए झैँ मर्न पनि त सहज हुँदो रहेन छ ।
कयौं पटक उर्लदो भेलमा हेलिन खोजेकी सितालाई किनामा पुगेर हाम फाल्ने आँट कहिले आएन । उनी किनारामा पुगेर सोच्थिन्, गुँडको चरा गुँडमै हराए, बच्चाले खोज्ला नी, आफ्नै देहे त्याग गरे मेरा लाला र बाला कहाँ गई बाँच्लान् नी ।यही सोचले उनलाई मर्न दिएन ।
चरा त बच्चा सम्झिएर गुँडमा आउँछ, मत मान्छे हुँ । मर्न खोलामा हाम फाल्छु भनेर कयौं पटक गएँ । तर, बच्चाको मायाले फर्काउथ्यो, उनले भनिन् । भनिन्छ, आमा सनतानका लागि जस्तासुकै पीडा सहेर हाँस्न सक्छिन् । यस्तै भावले उनलाई पीडाग्रस्त जीवनमा बचाइरहेको छ ।
पढ्नलेख्न नजाने पनि अतरिया बसपाकर्मा कुन बस कति बेला आउँछ, जान्छ भन्ने सितालाई थाहा छ । सधैँ जीवनसँग हारेर र श्रीमान् सम्झेर मात्रै पनि सम्भव थिएन । त्यसैले ४७ वर्षीया साउद आजभोली अतरिया बसपार्कमा पानी र मिठाई बेचेर जीवन गुजारा गरिरहेकी छन् । साना छोराछोरीको पालनपोषण त्यसैको आम्दानीले गरिरहेकी छन् ।
उनलाई श्रीमान् बिनाको जीवन शून्य तुल्य लाग्छ । मनभरी पीडा लुकाएर बाच्नुको विवस्ता उनीसँगै छ । पहाडमा पहिरोले दुख दिन थालेपछि उनी काखे सन्तान च्यापेर तराईं झरेकी हुन् । जहाँ गए पनि दुख कम हु्ने कुरै थिएन । जसोतसो दुख गरेर उनले कष्टपूर्ण जीवन विताइरहेकी छन् ।
उनले एउटा सानो छोरालाई घर खर्च चलाउन मजदुरीका लागि भारत पठाएकी छन् । पढाउन सकिनँ । पहिलो कुरा त बाच्नु पर्दो रहेछ । बाचेपछि केही गरिहाल्लान । त्यसैले सानो छोरालाई भारतमा ज्याला मजदूरी गर्न पठाएकी हुँ, उनले भनिन् । मन भारी पादै उनले रहर नभइ बाध्यताले छोरालाई भारत पठाएको सुनाइन् ।
जिन्दगीका कठोर यात्रा पार गरेकी उनलाई भने जिन्दगी अभावैमा जाने भयो भन्ने चिन्ताले दिनहुँ पिरोल्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्