विदेशिने चिकित्सकको संख्या बढ्यो : चार वर्षमा साढे ६ हजारले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’

काठमाडौं :  नेपालमा अध्ययन सकेर विदेश जाने चिकित्सकको संख्या ह्वात्तै बढेको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार पछिल्लो चार वर्षमा नेपालबाट ६ हजार भन्दा बढी चिकित्सक थप अवसर तथा रोजगारको लागि अमेरिका, अष्ट्रेलिया र बेलायत जस्ता देश गएको देखिएको छ।

काउन्सिलको विवरणको अनुसार गत चार वर्षमा विदेशमा काम गर्न र अध्ययनका लागि ६ हजार ४६८ जना चिकित्सकले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएका छन्।

Dengue

सन् २९२० मा ८६९ जना, सन् २०२१ मा १३२६ जना, सन् २०२२ मा १९५४ जना र सन् २०२३ मा २३१८ जनाले गुड स्ट्याण्डर्ड सर्टिफिकेट लिएको काउन्सिलको तथ्यांकमा छ। विशेषगरी गुड स्ट्याण्डर्ड सर्टिफिकेट विशेषज्ञता अध्ययन (रेजिडेन्ट वर्क), फेलोसिप र काम गर्न आवश्यक पर्छ।

स्वास्थ्यकर्मीमाथि हुने असुरक्षा, न्यून पारिश्रमिक, अवसरको कमी तथा लामो समयसम्म सरकारी स्वास्थ्य सेवामा विज्ञापन नहुनुजस्ता कारणले  पछिल्ला वर्षमा नेपालबाट विदेशिने चिकित्सकको संख्या उकालो लागिरहेको तथ्यांकले देखाउँछ।

कुनै पनि देशमा चिकित्सकले बिरामीलाई छोएर गर्ने उपचारका लागि सम्बन्धित देशको आधिकारिक नियामक निकायबाट गुड स्ट्याण्डर्ड सर्टिफिकेट माग्ने गरिन्छ। नेपाल मेडिकल काउन्सिलकाअनुसार विदेशमा अध्ययन गर्न, फेलोसीप गर्न वा काम गर्न जाने चिकित्सकले अन्य सबै प्रक्रिया पूरा गरेर सो देशमा जाने निश्चित भएपछि गुड स्ट्याण्डर्ड सर्टिफिकेट लिने गरेका छन्।

नेपालमा पनि सरकारी सेवामा बढुवा हुनका लागि काउन्सिल दिने यो प्रमाणपत्र अनिवार्य गरिएको छ। तर काउन्सिलको यो विवरण भने विदेश पलायन हुने चिकित्सकको मात्रै हो। मेडिकल काउन्सिलका रजिष्ट्रार डा. शतीश देवले भने, ‘अध्ययन र विभिन्न प्रकारका फेलोसिपका लागि गुड स्ट्याण्डर्ड सर्टिफिकेट लिने चिकित्सकको संख्या बढेको छ।’

धेरैको रोजाइ अमेरिका

काउन्सिलको विवरण हेर्दा विदेश जाने चिकित्सकको पहिलो रोजाइ अमेरिका हुने गरेको छ। पछिल्ला चार वर्षमा सबैभन्दा बढी अमेरिकाका लागि एक हजार ८८८ चिकित्सकले अमेरिका जान गुड स्ट्याण्डर्ड सर्टिफिकेट लिएको देखिन्छ।

यस्तै, दोस्रोमा बेलायतका लागि एक हजार ५७८ जना, तेस्रोमा माल्दिभ्सका लागि एक हजार ४६७ जना, भारतका लागि ५१३ जना, अष्ट्रेलियाका लागि ४०३ जना, यूएईका लागि ३४६ जना चिकित्सकले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएको काउन्सिलको तथ्यांकमा छ।

क्यानडाका लागि ८३, जर्मनीका लागि गुड स्ट्याण्डर्ड सर्टिफिकेट लिएका छन्। यस्तै पछिल्ला वर्षमा राम्रो कमाइ र अवसर भन्दै खाडी मुलुक जाने गरेको पनि देखिएको छ। चार वर्षमा कतारमा  ६१ , साउदीमा तीन र ब्रुनाईमा १४ जना  गएका छन। यस्तै सिंगापुरका लागि १४ जना, आयरल्याण्डका लागि १२, डेनमार्कका लागि ११, हङकङका लागि ९ , बंगलादेशका लागि एक, बेल्जियमका लागि एक र अन्य देशका लागि २८ जनाले गुड स्ट्याण्डर्ड सर्टिफिकेट लिएका छन्। विदेश जाने चिकित्सकका लागि सम्बन्धित चिकित्सकले निवेदन दिएपछि काउन्सिलले नै चिकित्सक जाने देशको नियामक निकायलाई यो सर्टिफिकेट पठाइदिन्छ।

यसरी विदेश गएका कति चिकित्सक स्वदेश फर्किए भन्ने विवरण काउन्सिलसँग नभए पनि यसरी जानेहरू प्राय नफर्किने गरेको पाइएको एक अधिकारीले बताए।  ‘केहीले रोजगारीको लागि नै भनेर गुड स्ट्याण्डर्ड सर्टिफिकेट लिने गरेका छन्। तर धेरैले विशेषज्ञता अध्ययन, फेलोसिप अध्ययनका लागि भनेर सर्टिफिकेट लिएको पाइन्छ’, उनलले भने, ‘विडम्बनाको कुरा के भने यसरी जाने चिकित्सक कमै मात्रै फर्केको पाइन्छ।’

यस्तै काउन्सिलको विवरण अनुसार हाल ३७६ विदेशी चिकित्सक नेपालमा कार्यरत छन्। विदेशबाट नेपाल आएर सेवा गर्ने चिकित्सकमा सबैभन्दा धेरै भारतीय चिकित्सक। यी चिकित्सक नेपालको मेडिकल कलेजमा कार्यरत छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार