काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरा ८८ रनले पराजित भएको हो ।
पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १६१ रन बनायो । रवि बोपाराले सर्वाधिक ५१ रन बनाएको इनिङ्समा रेमन राइफर, बास डे लिडे र बिपिन कार्कीले समान २ विकेट लिए ।
जवाफमा पोखराले १३.२ ओभरमा अलआउट हुँदै ७४ रनमात्र बनाउन सक्यो । नारायण जोशीले सर्वााधिक ३० रन बनाएको इनिङ्समा मार्कस क्रिट्लीले १७ रन बनाए । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् ।
पहिलो ओभरमै तीन विकेट लिएर पाकिस्तानी बलर सोहेल तन्भिरले कमाल गरेका थिए । त्यस्तै रिजन ढकाल र लुक बेन्केन्स्टिनले ३–३ विकेट नै लिए ।
योसँगै चितवनले लगातार दोस्रो जित हासिल गरेको छ । पोखराले भने पहिलो खेल खेलेको हो ।
यसअघिका खेल
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।
पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्