कैलालीको गोदावरीमा फोहोर छरपस्ट !

कैलाली : कैलालीको गोदावरी नगरपालिकाको फोहोर छरपस्ट फाल्ने गरिएको छ । नगरपालिकामा फोहोर संकलनको जिम्मा पाएको मातृभूमि समाज प्रालिले चौकिडाँडा सामुदायिक वनमा छरपस्ट फोहोर फाल्ने गरेको हो ।

गोदावरीमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको भए पनि विगत देखि नगरपालिका भित्रको फोहोर मैला संकलन र व्यवस्थापनको जिम्मा पाएको मातृभूमि समाज प्रालिले भने सडक किनारामा छरपस्ट हुने गरी फोहोर फाल्ने गरेको छ ।

एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र जाने बाटोको छेउमै फालिने फोहोर सडकमा समेत छरपस्ट फैलिएको छ । जसले गर्दा सो बाटो भएर हिँड्दा नाक थुन्नु पर्ने अवस्था रहेको छ । फोहोरमैला व्यवस्थापन केन्द्रमा हाल छाडा गाईगोरु पनि आफ्नो आहारा खोज्दै जाने भएकाले फोहोर झन छरपस्ट हुने गरेको छ । तर, सडक किनारामै फालिने फोहोरको हाल कुनै व्यवस्थापन हुन सकेको छैन ।

फोहोरलाई जलाउने काम गरिदा झन वातावरण पनि दुर्गन्धित हुँदै गएको छ । फोहोर संकलन गर्ने ठाउँमा मात्रै नभएर अत्तरिया बजार क्षेत्रमा पनि जताततै फाहोर छरपस्ट फैलिएको छ । विशेष गरेर अत्तरिया क्षेत्रमा रहेको खुला सडकका नाली, अत्तरिया बसपार्कमा जताततै फोहोर फैलिएको भएपनि त्यसको सफाइका लागि ध्यान दिइएको छैन ।

जसले गर्दा अत्तरिया बजार क्षेत्र दुर्गन्धित देखिने गरेको छ । गोदावरी नगरपालिकाले मातृभूमि समाज प्रालि सँग २ वर्ष अघि फोहोर मैला संकलनको लागि ठेक्का सम्झौता गरेको थियो । तीन वर्षको लागि गरिएको उक्त सम्झौता अनुसार मातृभूमिले प्रत्येक वर्ष नगरपालिकालाई एक लाख राजश्व तिर्दै आएको छ ।

मातृभूमि समाज प्रालिका सञ्चालक गोविन्द रावलले हाल गोदावरी नगरपालिकाको एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भएर सञ्चालनको तयारी भएकाले आगामी दिनमा फोहोर व्यवस्थापनमा सहज हुने बताए । गोदावरीमा हाल एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढी मार्फत ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपैयाँमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरिएको छ ।

चाइनाको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स सँगै ठेक्का सम्झौता गरेर निर्माण गरिएको फोहोर मैला व्यवस्थापन केन्द्र तीन वर्ष सम्म सोही कम्पनीले नै सञ्चालन गर्ने छ । फोहोर मैला व्यवस्थापन केन्द्रमा कुहीने, नकुहिने फोहोर छुट्टाएर व्यवस्थापन गर्ने जनाइएको छ ।

केन्द्र मार्फत दिसान्जय फोहोर व्यवस्थापनका लागि पनि घरघरबाट सेफ्टी ट्याङ्कीमा सङ्कलन गरेर मल बनाइने जनाइएको छ । दिसाजन्य फोहोरको व्यवस्थापन गर्नका लागि ५ घन मिटर र ८ घन मिटरका छुट्टै सेड निर्माण गरिएका छन् । फोहोर मैला व्यवस्थापन केन्द्रमा ठोस फोहोर प्रतिदिन १३ टन र दिसाजन्य फोहोर प्रतिदिन १३ घन मिटर व्यवस्थापन गर्न सकिने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार