काठमाडौँ : मंसिर महिना लागेसँगै तापक्रम घट्दो छ । जाडोयाम तुलनात्मक रुपमा गर्भवती महिलाभन्दा सुत्केरी महिलाका लागि सकसका समय हुन् । किनकि सुत्केरी महिलाले आफूसँगै नवजात शिशुको हेरचाह गर्नुपर्ने हुन्छ ।
बिस्तारै काठमाडौं उपत्यका र तराईका जिल्लाहरुमा मध्यान्ह नभएसम्म घाम राम्ररी आउँदैन । र, जण्डिस कम गर्न, तेल घसिदिन तथा भिटामिन डी प्राप्त गराउन नवजात शिशुको लागि बिहानीपखको घाम निकै महत्वको हुन्छ । तर मकल, हिटरको प्रयोग एवं कपडाहरुले गुटमुट्याएर राख्नुको विकल्प हुँदैन, यसरी न्यानो त होला तर जण्डिस र भिटामिन डीको लागि भने त्यति लाभदायक हुँदैन ।
जाडो मौसममा अन्य व्यक्तिलाई झैं गर्भवती महिलालाई पनि छालाको समस्या, जननेन्द्रियको समस्या, पिसाबको समस्या, श्वासप्रश्वासको समस्या लगायत समस्या देखिन्छन् । गर्भवती महिलाले अघिल्लो वर्ष दराजमा थन्क्याइएका बाक्ला खालका लुगाहरु (स्वेटर, ज्याकेट, ऊनका लुगा) झिक्दै लगाउँदा शरीरमा रातोपनसँगै डाबर उठ्ने तथा छालाको एलर्जी हुनसक्छ । त्यसैले लुगा तथा कपडाको प्रकृति अनुसार घाममा सुकाएर, राम्रोसँग धोएर, इस्त्री लगाएर, सफा गरेर लगाउनु बुद्धिमानी हुन्छ ।
त्यसैगरी जाडोयाममा गर्भवती महिलामा ओठ, मुख, हात, खुट्टा, कुर्कुच्चा फुट्ने समस्या पनि धेरै देखिन्छ । साथै ओठमुख सुक्खा, रातो र सुन्निएको देखिने तथा पहेंलो र फुस्रो देखिन सक्छ । ओठ तथा शरीरका अन्य छाला फुट्नुको मुख्य कारण यसमा रहेको ओसिलोपनामा कमी आउनाले हो । खासगरी जाडोयाममा हावा सुक्खा हुने भएकाले ओठको रसिलोपनमा धेरै कमी आउँछ । यी समस्याबाट पेट्रोलियम जेलीयुक्त बाम, चिपस्टिक लगाउने गरेमा यो समस्याको निराकरण हुन्छ । ओठ फुट्ने समस्या भएकाले कडा खालको सूर्यको प्रकाशबाट पनि बच्नुपर्ने हुन्छ । तर जाडोयाममा घाम ताप्न मन पराउने हुनाले घाममा निस्किंदा लिप बाम, चिपस्टिक वा सनस्क्रिन लगाउनुपर्छ । साथै औठ टोक्ने, मुखबाट सास फेर्ने बानी हटाउनुपर्छ ।
हातगोडा र कुर्कुच्चा फुट्ने समस्याका लागि धेरै तातो र धेरै चिसो पानी प्रयोग गर्नुहुँदैन । भान्सामा भाँडाकुँडा धुनलाई तातोपानी वा चिसोपानी एकैथरी मात्र प्रयोग गर्नुपर्छ । हातगोडा न्यानो पार्न पञ्जा-मोजा लगाउन सकिन्छ । विशेषगरी पानी चल्नु अगाडि हल्का भ्यासेलिन दल्नु राम्रो हुन्छ । कुर्कुच्चा फुट्ने समस्या भएको महिलाले राति मनतातो नुनपानीमा केहीबेर खुट्टा डुबाएपछि सुक्खा हुनेगरी पुछेर भ्यासलिन, ग्लिसिरिन दल्नुपर्छ । घरमा एअर कन्डिसन प्रयोग गर्ने गरेको छ भने हावालाई आर्द्रतायुक्त बनाइराख्नुपर्छ । घर तथा अफिसमा ग्याँस वा मट्टितेलबाट चल्ने हिटर छेउ बसी काम गर्ने बानी छ भने पनि कोठाभरिको हावा शुष्क नहुने उपाय अपनाउनुपर्छ । पटक-पटक पानी पनि पिउँदै गर्नुपर्छ ।
जाडो मौसममा तुलनात्मक रुपमा कम नुहाइन्छ । शारीरिक सरसफाइमा कमी भयो भने यौनाङ्ग वरिपरि चिलाउने, यौनाङ्ग वरिपरि भागको संक्रमण तथा सुजन हुने हुनसक्छ । ट्राइकोमोनास, क्यान्डिडा, (फङ्गस), भाइरस, जुम्रा तथा चुर्ना कारक तत्व हुनसक्छ । त्यसैले पौष्टिक खानेकुरा खाने, खुकुलो खालको कटनबाट बनाइएको भित्री कपडा मात्र लगाउने, आवश्यकताअनुसार औषधोपचार गर्नुपर्ने हुनसक्छ । सबैभन्दा महत्वपूर्ण कार्य चाहिं नियमित तवरले यौनाङ्गको उचित सरसफाइ नै हो ।
चिसोपन, शुष्कता एवं आगो, धुवाँ तथा प्रदूषणको कारणले गर्भवती महिलामा पनि श्वासप्रश्वासको समस्या र रुघाखोकीको समस्या बढ्न सक्छ । श्वासप्रश्वास सम्बन्धी समस्या अन्तर्गत दम, ब्रोङ्काइटिस र निमोनिया पर्छन् । विशेषगरी जाडोयाममा श्वासनली साँघुरिंदै गएर सास फेर्न गाह्रो हुने हुन्छ । चिसोपनले हुने एलर्जी, न्यानो पार्नका आगो ताप्ने क्रममा आउने धुवाँ र चुरोटको अत्यधिक सेवनले श्वासप्रश्वास सम्बन्धी समस्यालाई बल्झाउँछ । त्यसैले लामो समयसम्म धुम्रपान गर्ने, धुवाँ तथा वायु प्रदूषणमा रहने व्यक्ति (ट्राफिक, ईंटाभट्टा, सिमेन्ट कारखानामा काम गर्ने आदि) जोखिममा हुन्छन् ।
विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा खाना पकाउन तथा कोठा न्यानो बनाउन परम्परागत रुपमा दाउरा नै बाल्ने चलन अझै छ । त्यसैले पनि नेपालमा सीओपीडी (जीर्ण प्रकारको श्वासनली साँघुरिने रोग) का समस्याबाट ग्रस्त महिलाहरुको संख्या धेरै छ । बेलैमा यस्ता हानिकारक तत्वबाट टाढा रहन चिकित्सकको सल्लाह बमोजिम श्वासनली फुक्ने तथा एन्टिबायोटिक औषधि चाहिन सक्छ ।
यी समस्या सुत्केरी महिलालाई पनि हुनसक्छ । अझ सरसफाइको कमीले सुत्केरी महिलामा यौनाङ्गको समस्या समेत हुने जोखिम बढी हुन्छ । तर पनि नवजात शिशुलाई झैं सुत्केरी महिलालाई पनि सेकताप चाहिने हुने हुनाले आगो ताप्ने क्रममा ख्याल राख्नुपर्छ । हिटर बाल्ने वा अगेनो ताप्ने बेलामा आफू र शिशुको ख्याल गर्नुपर्छ ।
न्यानोका लागि हट-वाटर ब्याग प्रयोग गर्ने बानी छ भने सजगता अपनाउनुपर्छ । राति सबै काम सकेपछि सबैजसो स्वीच तथा इलेक्ट्रिक सामानहरुको लाइन राम्ररी बन्द गर्न लगाउनुपर्छ । बिजुली हिटरको प्रयोगको क्रममा सतर्कता अपनाएन भने ठूलो विपत्ति निम्तिन सक्छ । विगत केही वर्षदेखि मनतातो पानीले नुहाउन गिजरको प्रयोगले दुर्घटनाका खबर आइरहेका छन् । झ्यालढोका डम्म बन्द गरी न्यानो बस्ने, हिटर बालेर सुत्ने तथा नुहाउने क्रममा कार्बन मोनोअक्साइडको विषाक्तता हुने जोखिम धेरै हुन्छ । अतः हावा राम्ररी चलखेल हुन्छ, हुँदैन हेक्का राख्नुपर्छ ।
जाडो महिनामा खाना रुचिलाई लिएर समस्या हुँदैन । शारीरिक तापका लागि पनि बढी शक्ति चाहिन्छ । तर कार्बोहाइड्रेट तथा चिल्लो पदार्थयुक्त खाना आफ्नो शारीरिक अवस्था, पेट (आमाशय)को अवस्था अनुसार खानु श्रेयस्कर हुन्छ । चिनी, प्रेसर, कोलेस्टेरोल पीडित महिलाले चिल्लो पदार्थयुक्त खानेकुरा खाँदा थप सजगता अपनाउनुपर्छ । अब बिस्तारै भोजभतेरको समय पनि आउँदैछ । विशेषगरी गर्भवती महिलाले चिल्लो, मसलायुक्त खानाले अपच, ग्यास्ट्राइटिस तथा पखाला गराउन सक्छ । जीउ तताउने वा न्यानो पार्ने नाममा गर्भवती तथा सुत्केरी महिलाले मदिरा कदापि पिउने गर्नुहुँदैन ।
प्रतिक्रिया दिनुहोस्