उत्पादन बढाउनुहोस्, बजारको जिम्मा मन्त्रालयले लिन्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाएका छन् ।

आज समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले समितिलाई तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिँदै औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको बताए । देशभरका सबै स्थानीय तहमा स्वदेशी आयुर्वेद औषधि बिक्री वितरणको व्यवस्थापन मिलाई विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सकिने उनको धारणा थियो ।

dashain shuvakamana
Discovery School

‘वैद्यखानाले आत्मनिर्भर मात्र नभई निर्यात गर्न सक्ने गरी क्षमता बढाउनुपर्छ । उत्पादन वृद्धि भयो भने आयात बन्द गर्ने काम हामी गर्छौं’, मन्त्री पौडेलले भने । उनले समितिले आफैँ उत्पादन वृद्धि गरेर कमाउनुको विकल्प नभएको भन्दै आफ्नै आम्दानीको सुनिश्चितता भएमा समितिको आर्थिक स्थिति सहज हुँदै जाने उल्लेख गरे ।

‘समितिले उत्पादन बढाउँदै आर्थिक स्तर सुधारको पहल गरेमा सरकारले औषधि बिक्रीमा समन्वय र सहयोग गर्नेछ । यसबाट समितिको काम निरन्तर हुनुका साथै कर्मचारीलाई सेवा सुविधा उपलब्ध गराउन पनि सरकारलाई सहज हुनेछ । सधैँ नोक्सानमा सञ्चालित संस्थालाई निरन्तरता दिन सरकारलाई पनि सहज नहुने भएकाले सबैको साथ र सहयोगीबाट समस्या समाधान गर्दै जानुको विकल्प छैन’, मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले मौलिकता, संस्कृति र पहिचानका लागि वैद्यखानाको विशेष महत्त्व रहेको उल्लेख गरे । ‘वैद्यखाना नेपालको मौलिक विधिबाट सञ्चालित संस्था हो । यसमा हाम्रो मौलिकतासँगै आध्यात्मिक र इतिहास जोडिएको छ । यो हाम्रो संस्कृति र परम्परा पनि हो । अहिले समितिको उत्पादन घट्दो छ, यो पनि बन्द हुने स्थिति भयो भने हाम्रो मौलिकता समाप्त हुन्छ’, उनले भने । मौलिकता र संस्कृति जर्गेना गर्न पनि उत्पादन वृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा अर्थसमितिका सभापति सन्तोष चालिसेले वैद्यखानाको विकासका लागि आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । पूर्वगृहराज्यमन्त्री एवं नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले समितिबाट उत्पादन वृद्धि गर्न सरकारले वातावरण मिलाएमा आफूहरूले विदेशमा समेत निर्यात गर्नेगरी उत्पादन वृद्धि गर्दै जाने बताए । उनले विदेश निर्यातका लागि बजार व्यवस्थापनका लागि सहयोग गर्न मन्त्रीसमक्ष प्रस्ताव राखे ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले वैद्यखानाले आफ्नो कार्यक्षमताको समीक्षा गर्दै अघि बढ्न चाहेमा मन्त्रालय सकारात्मक रहेको जानकारी दिए । नेपाल आयुर्वेद चिकित्सा सङ्घका अध्यक्ष डा श्यामबाबु यादवले वैद्यखानामा दरबन्दी थप्न र कर्मचारीको वृद्धि विकासमा ध्यान दिन मन्त्रालयको ध्यानाकर्षण गराए ।

सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष प्रा डा ठाकुरप्रसाद दुवाडीले वार्षिकोत्सवको शुभकामना आदानप्रदान गर्दै आर्थिक रूपले समितिलाई सशक्त बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा चन्द्र निघण्टुको १० औँ भाग मन्त्री पौडेललगायत विशिष्ट अतिथिहरूद्वारा विमोचन गरिएको थियो । राजा प्रताप मल्लको पालामा हनुमानढोकामा स्थापना भएको वैद्यखाना त्यसपछि थापाथली दरबार हुँदै सिंहदरबारमा स्थानान्तरण भएर २०५२ सालदेखि विकास समितिअन्तर्गत सञ्चालित हुँदै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार