कञ्चनपुर : थारू समुदायमा मुसा सिकार गर्ने कार्य सामूहिक र एकल रूपमा पुस्तौँदेखि चल्दै आएको छ। कञ्चनपुरका रामबहादुर चौधरीका अनुसार पहिले मुसाको सिकार गर्न गाउँगाँउबाट हुलकाहुल जाने गर्दथे।
चौधरीले भने, “हाल थोरै जनाले मात्रै मुसा मार्न जाने गर्दछन्, युवाहरूले मुसा मार्न नै छाडिसके।” थारू युवाहरू व्यावसायिक कार्यमा व्यस्त हुन थालेपछि पहिलाजस्तो मुसा मार्ने कार्य नहुने उनको भनाइ छ । चालीस वर्षमाथिका मात्रै मुसा मार्नका लागि जाने गरेका छन्।
शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन्। उनी बिल हेरेर नै त्यसमा मुसा भए,नभएको बारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन्।
धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन्। फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन्। उनले मुसा मार्न तीन जनाको टोली नै बनाएका छन्। उनीहरु दिउँसोको खाना बोकेर मुसा मार्न काँधमा फरुवा राखेर बिहानै बन्धुरामसँगै निस्कन्छन्।
साँझ अबेरसम्म मुसा मारेर तीनै जना घर फर्कने गर्छन्। थारू समुदायले मुसा मारेर त्यसबाट चटनी, टिना तरकारीे, पकुवा ओगोमा पोलेकोे लगायत परिकार बनाएर खाने गर्दछन्।
पाहुनालाई अन्य परिकारसँगै मुसाका परिकार पस्किने चलन थारू समुदायको पुरानै हो। समुहमा मुसा मार्न गए फरुवाले मुसाको दुलो खनेर र दुलोमा पानी खन्याएर मार्ने गरिन्छ। यी मुसा मार्ने विधि भने अहिले पनि चलनचल्तीमा छन्।
प्रतिक्रिया दिनुहोस्