कैलाली र कन्चनपुरमा दसैंका लागि चिटिक्क बन्दै थारू बस्ती

कञ्चनपुर : पहेंलो माटोले लिपपोत गरेर घर चिटिक्क बनाइएका छन् । आँगन सफासुग्घर छ । सखिया नृत्यको पनि तयारी चलिरहेको छ । सखियामा लगाउने परम्परागत पहिरन सिलाउनेदेखि साँझपख सखियाको अभ्यास पनि भइरहेको छ ।

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरको थारू बस्तीमा व्यस्तता बढेको हो । घर लिपपोत गर्ने, माटो ल्याउनेदेखि खानपिनका लागि कुटानीपिसानीका काम धुमधामसाथ चलिरहेका छन् । ‘दसैंमा घर लिपपोत अनिवार्य हो,’ जोनापुरकी मंग्री डंगौराले भनिन्, ‘घर नलिप्ने त अल्छी नै मानिन्छ, देउता रिसाउँछन् भन्ने मान्यता छ ।’ उनका अनुसार घरमा कोही नभए आफन्त वा छिमेकीलाई भनेर पनि लिपपोत गराउने चलन छ ।

dashain shuvakamana
Discovery School

उनका जेठा छोरा प्रेम तीन वर्षदेखि परिवारसहित भारतको मुम्बईमा बस्छन् । जेठा छोराको घर पनि उनले नै लिपपोत गरिदिन्छिन् । घर लिपपोतका लागि जंगलबाट पहेंलो देखिने चाम्रो माटो ल्याउनुपर्छ । अहिले यस्तो माटो नजिक पाइँदैन, ट्र्याक्टरबाटै ढुवानी गर्नुपर्छ ।

प्रतिट्रली ३ हजारदेखि साढे ३ हजार रुपैयाँसम्म पर्छ । नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छ तर माटो निकाल्न पाइँदैन । घरको भित्रपट्टि सेतो माटोले लिपपोत गरिन्छ । यस्तो माटो नदी, तलाउन वा पोखरीमा पाइन्छ । सेतो माटो भने महिलाहरू आफैं नदीमा गएर निकाल्छन् ।

यति बेला धान पाकेर पहेंलपुर भएका छन् । घर लिप्नेसँगै धानबाली भित्र्याउने पनि चटारो छ । दुवै काम सँगै भएकाले व्यस्तता बढेको जोनापुरकी सरिता पछल्डंग्याले बताइन् । उनका तीन वटा घर छन् । एक सातादेखि उनी लिपपोतमा लागेकी छन् । एक्लै नसक्ने भएपछि भीमदत्त नगरपालिका–१९ बाग्फाँटा घर भएकी नन्द चाँदनीलाई पनि बोलाएकी छन् । पछल्डंग्याले भनिन्, ‘खेतमा धान पनि पाकेको छ, त्यही भएर बढी चटारो छ ।’ उनका श्रीमान् मिस्त्री काम गर्छन् । घरमा दृष्टिविहीन सासू र बिरामी ससुराको पनि रेखदेख गर्नुपर्छ ।

स्थानीय भीमबहादुर डंगौराका अनुसार दसैंमा घर लिपपोत नगरे देउता रिसाउँछन् भन्ने मान्यता छ । ‘त्यसैले पक्की घर हुनेले पनि छेउमा सनो कच्ची घर बनाएकै हुन्छन्,’ उनले भने, ‘लिपपोत गरेपछि मात्रै देउताको पूजा गरिन्छ ।’ नवरात्रिको पञ्चमीका दिन थारू समुदायले घरमा विशेष पूजा गर्ने डंगौराले बताए । सप्तमीको दिन पनि पूजा गरिन्छ । राति ढिकरी र अनदी भात बनाउने सामग्री जुटाइन्छ ।

भोलिपल्ट ढिकरी र अनदीको भातसँगै खानाका विभिन्न परिकार बनाइन्छ । ‘दशमीको दिन भलमन्साको घरमा सखिया नृत्य देखाइन्छ, गाउँभरिका सबै जना भलमन्साकै घरमा गएर टीका पनि लगाउँछौं,’ डंगौराले भने, ‘सखिया नृत्यका लागि एकरडेढ साताअघि नै तयारी सुरु हुन्छ ।’ सखियामा पुरुषले मादल बजाउने, महिलाले नाच्ने गर्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार