काठमाडाैँ : अभिनेत्री मनीषा कोइरालाले जुम्लाको अर्गानिक स्याउ खान अपील गरेकी छन्। मंगलबार जुम्लाका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीसँग भएकाे भेटमा कोइरालाले नेपालमै उत्पादित स्याउ प्रयोग गर्न आग्रह गरेकी हुन्।
कोइरालाले भनिन्, ‘ज्ञानेन्द्र शाहीले जुम्लाबाट स्याउ ल्याइदिनुभयो। हामीले अर्गानिक र नेपालमै उत्पादित खानु पर्छ। कस्तो स्वादिष्ट र पौष्टिक छ। हेर्दा चम्किलो नभए पनि खाँदा मिठो छ।’
सांसद शाहीले जुम्लाको स्याउ ब्रान्डिङका लागि विभिन्न सेलिब्रेटीसँग भेट गरिरहेका छन्। शाहीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई संसद्मा स्याउ उपहार दिँदै बाहिरबाट आयात हुने स्याउलाई राेक्नुपर्ने बताएका थिए।
जुम्लाका किसानले उत्पादन गरेको स्याउ बेच्न उनले विभिन्न निकायसँग पहल पनि गरेका छन्। प्रचार–प्रसार भएपछि यसपटक जुम्लाको स्याउले बजार पाएका छन्।
प्रतिक्रिया दिनुहोस्