सिन्धुली : सिन्धुली जिल्लामा आइतबारसम्म हालैको बाढीपहिरोबाट प्रभावित ३९१ घर परिवारले राहत सामग्री पाएका छन्।
ती मध्ये आइतबार मात्रै खुर्कोटमा सुनकोसी नदी बाढी प्रभावित गोलन्जोर गाउँपालिका–७ खुर्कोटका १७७ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ। ती मध्ये ९६ घर परिवारले यसअघि नै पहिलो चरणको राहत सामग्री पाइसकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा राहत वितरण कार्यदल सिन्धुलीका संयोजक कृष्णमणि फुयालका अनुसार हालसम्म सुनकोसी नदी, बागमती नदी र रोसीखोलामा आएको बाढी तथा विभिन्न ठाउँमा गएको पहिरोबाट प्रभावित ३९१ घरपरिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो।
गोलन्जोर गाँउपालिकाका १७७, सुनकोसी गाउँपालिकाका २०३ र हरिहरपुरगढी गाउँपालिकाका ११ घरपरिवारले उक्त सामग्री पाएका छन्। असोज ११ र १२ गतेको अबिरल वर्षापछि बाढीपहिरो प्रभावित परिवारलाई सम्बन्धित पालिका तथा वडामा नै गएर राहत सामग्री वितरण हुँदै आएको उहाँले जानकारी दिए।
सुनकोसी नदीको बाढीबाट सुनकोसी र गोलन्जोर गाउँपालिका तथा बागमती नदीको बाढीबाट हरिहरपुरगढी गाउँपालिकाका बासिन्दा प्रभावित भएका थिए। एकद्वार प्रणाली मार्फत जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा बाढीपहिरोबाट बढी पीडित घर परिवारलाई राहत सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्