काठमाडौँ : नेपाल राष्ट्र बैंकको टक्सार विभागले सुन–चाँदीका सिक्का पनि सर्वसाधारणलाई वितरण गर्दै आएको छ । तर नोटको माग दसैंमा धेरै भएजस्तै सुन र चाँदीका सिक्काको माग तिहारमा धेरै हुने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
‘एक वर्षभरमा बजारमा आपूर्ति हुने नोटमध्ये आधाभन्दा बढी दसैंमा मात्र राष्ट्र बैंकबाट बाहिरिन्छ,’ स्रोतले भन्यो, ‘एक वर्षमा राष्ट्र बैंकबाट बिक्री हुने सुन र चाँदीका सिक्कामध्ये ९० प्रतिशतभन्दा बढी तिहारका बेला बिक्री हुन्छ ।’
माग कम हुने भएकाले पनि हाल टक्सार विभागबाट हरेक दिन साधारण सिक्का (एक र दुई रुपैयाँ) सँगै केही संख्यामा सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का (मेडालियन) बिक्री भइरहेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए । ‘अहिले असर्फी र मेडालियन सिक्काको माग धेरै छैन, मागअनुसार वितरण भइरहेको छ । हामीसँग पर्याप्त संख्यामा मेडालियन, १० र १५ ग्रामका असर्फी छन्,’ उनले भने, ‘ती सिक्काको माग तिहारमा धेरै हुने भएकाले सोहीअनुसारको आन्तरिक तयारी राष्ट्र बैंकले गरेको छ ।’
नेपालीहरूमा सुन र चाँदीका सिक्काप्रतिको मोह अचाक्ली देखिन्छ । गत वर्ष तिहार र धनतेरसको समयमा मात्र सुन र चाँदीका गरी करिब ४३ हजार थान सिक्का बिक्री भएका थिए । राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सुनका सिक्का (असर्फी) र विभिन्न दरका गाई अंकित, गणेश अंकित र गजलक्ष्मी अंकित चाँदीका सिक्का बिक्री गर्दै आएको छ ।
नेपालमा धनतेरसलाई नै लक्ष्य गरी सिक्का पूजा गर्ने चलन नयाँ होइन । एक दशकयता धनतेरसलाई प्राथमिकता दिन थालिएको र पछिल्ला वर्षमा यसको माग बढ्दै गएको सुनचाँदी व्यवसायी बताउँछन् । यद्यपि अहिले अर्थतन्त्र मन्दीमा रहेकाले बजारमा सुनको माग घटे पनि सुनचाँदीका सिक्काको माग नघटेको नेपाल सुनचाँदी व्यवसायी बताउँछन् । असर्फी र स्मारिका सिक्काको माग हरेक वर्ष बढ्दो क्रममा रहेको राष्ट्र बैंकका अधिकारीहरू पनि स्विकार्छन् ।
सुनको बजार मूल्यका आधारमा असर्फीको मूल्य तोकिन्छ । बजारमा सुनका गहना खरिद गरेजस्तै राष्ट्र बैंकबाट असर्फी खरिद गर्न सकिन्छ । बजारमा सुनचाँदी पसलमा पनि असर्फी बिक्रीका लागि राखिएको हुन्छ । तर राष्ट्र बैंक सरकारी निकाय भएकाले गुणस्तरमा विश्वस्त हुन सकिन्छ । यसकारण सर्वसाधारण राष्ट्र बैंकबाटै असर्फी खरिद गर्न रुचाउँछन् । सर्वसाधारणबाहेक संगठित तथा निजी क्षेत्रका संस्थागत खरिदकर्ताबाट प्रयोजन खुलाई न्यूनतम २० थान असर्फी माग भए असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यताका आधारमा विभागीय निर्णयबाट राष्ट्र बैंकले बिक्री गर्छ ।
सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम ३ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर संस्थाको हकमा प्रतिग्राम ५ सय रुपैयाँ थप हुने राष्ट्र बैंकले बताएको छ । बिहीबारको सुनको मूल्यअनुसार असर्फीको मूल्य साढे २ ग्रामको २५ हजार १ सय २० रुपैयाँ, ५ ग्रामको ५० हजार २ सय ४० रुपैयाँ र १० ग्रामको १ लाख ४ सय ८० रुपैयाँ तोकिएको छ ।
असर्फी सुनको सिक्का हो । असर्फी सिक्काका रूपमा भए पनि चलनचल्तीको मुद्रा होइन । यसकारण असर्फीले सामान खरिद गर्न वा आवश्यकताअनुसार खर्च गर्न मिल्दैन । सुनलाई गालेर सिक्काको आकार दिइन्छ, त्यसैलाई असर्फी भनिन्छ । यो काम राष्ट्र बैंकले गर्छ । असर्फी सिक्का भए पनि तिनमा (मूल्य) अंकित गरिएको हुँदैन । सिक्काको एक पाटोमा ‘असर्फी नेपाल’ र अर्को पाटोमा नेपाल राष्ट्र बैंक तथा मिति राखिएको हुन्छ ।
राष्ट्र बैंकले चाँदीको सिक्का पनि बनाएर बिक्री गर्दै आएको छ । ती सिक्कालाई मेडालियन र स्मारिका नाम दिइएको छ । ती सिक्का चाँदी र किप्रोनिकल (तामा र निकल मिश्रण गरिएको) बाट पनि बनाइन्छ । मेडालियन भन्नाले आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले टकमारी (निर्माण) गरिने सिक्का हो ।
प्रतिक्रिया दिनुहोस्