काठमाडौं : सलोन–सलिना फिल्म्सको ब्यानरमा बन्ने नयाँ नेपाली फिल्म ‘रंगी’ को स्क्रिप्ट पूजा गरिएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको घटस्थापनाको अवसर पारेर बिहीवार कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गरिएको हो ।
सुरेश न्यौपानेको डेब्यू निर्देशन रहने फिल्मको स्क्रिप्ट पूजामा सलोन बस्नेत, नम्रता श्रेष्ठसहित फिल्मका अन्य कलाकार तथा प्राविधिकहरुको उपस्थिति थियो ।
फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलिप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहने छ । फिल्मको छायांकन आगामी कार्तिक ५ गतेदेखि प्रारम्भ हुनेछ ।
निर्देशक न्यौपानेसँग फिल्म छक्का पन्जा, ए मेरो हजुर २, यात्रा, ‘म यस्तो गीत गाउँछु–२, कृ आदि फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।
निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरिसकेको छ, जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।
सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्