काठमाडौं : सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।
आइतवार बिहान ११ बजेपछि सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक र सचेतकसँग सभामुख घिमिरेले छलफल गर्नेछन् ।
यो अनौपचारिक छलफल रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।
एमाले सांसद योगेश भट्टराईले संसदमा माओवादी सशस्त्र युद्धलाई ‘हिंसा’ भनेपछि माओवादी केन्द्रले आपत्ति जनाउँदै संसद अवरुद्ध गरेको थियो ।
माओवादीले संसदको रेकर्डबाट उक्त शब्द नहटाएसम्म संसद अवरोध गर्ने चेतावनी दिँदै आएको छ । आइतवारको बैठक पनि अवरोध गर्ने सम्भावना रहेकाले सभामुखले राष्ट्रिय दलहरूको बैठक बोलाएका हुन् ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्