काठमाडौं : लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । शनिवार बिहान उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो भवनको शिलान्यास गरेका हुन् ।
६ अर्ब १८ करोड बढीको लागतमा निर्माण हुने सो अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्ट हो । प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको प्रादेशिक अस्पताल नयाँ भवन निर्माण प्रक्रिया अघिल्लो आर्थिक वर्षमा सुरु भए पनि भवनको औपचारिक शिलान्यास भएको थिएन ।
प्रदेश सरकारका चार वटा गौरवको आयोजनामध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण पनि महत्त्वपूर्ण आयोजना हो । २०७६ सालमा तत्कालीन सरकारले ड्रिम प्रोजेक्टको रूपमा सो अस्पताल भवन निर्माणको कामलाई अघि बढाउने प्रक्रिया थालेको थियो ।
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक वर्षमा एक अर्ब ८० करोड बजेट समेत विनियोजन गरेको छ । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पुरानो संरचना हटाएर नयाँ संरचना निर्माणको काम समेत सुरु भएको छ । अस्पताल भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्