‘सफा हुँदै धनगढी, सफल हुँदै मेयर हमालको सपना’

दशरथ भट्ट

कैलाली । विगतमा फोहोरका डंगुरले दुर्गन्धित हुने धनगढीका खोला अचानक कसरी सफा हुँदैछन् ? सँधै फाहोर हुने सार्वजनिक स्थान र सडक कसरी सफा बन्दैछन् ? आखिर कहाँ व्यवस्थापन हुँदैछ धनगढीको फोहोर ? यसको सटिक जवाफ हो ‘सुक्ष्मवर्गिकरण केन्द्र’ । सुक्ष्म वर्गिकरण केन्द्र स्थापना भएसँगै अहिले धनगढीका घर तथा विभिन्न स्थानबाट निस्किने फोहोर सिधै केन्द्रमा पुग्छ र वर्गिकरण हुँदै कुहिने फोहोरबाट ग्याँस तथा मल उत्पादन गरिन्छ भने नकुहिने फोहोरलाई पुनः प्रयोगमा ल्याइन्छ ।

अछामको मेल्लेख गाउँपालिका–३ का हस्त बहादुर शाह धनगढीको सुक्ष्मवर्गिकरण केन्द्रमा अहिले नन्दादेवीकोे प्रबन्धक भएर काम गर्छन् । सुक्ष्म वर्गिकरण केन्द्र नन्दादेवी सेवा केन्द्र र धनगढी उपमहानगरपालिकाको साझेदारीमा फोहोरको दिर्घकालीन व्यस्थापन गर्ने उद्देश्यसहित सञ्चालन भएको केन्द्र हो ।

Dengue

केन्द्रमा धनगढीका करिब ३० हजार घरधुरीबाट निस्किएको फोहोर पुग्छ । जुन फोहोरलाई केन्द्रमा सुक्ष्म वर्गिकरण गरिन्छ ।   

सुरुमा नगरबासीले आफ्नो घरमै फोहोरको वर्गिकरण (कुहिने र नकुहिने) गर्ने शाहले बताए । ‘भान्सा तथा घरबाट वर्गीकरण भएको कुहिने र नकुहिने फोहोर नगरपालिकाको फोहोर संकलन टोलीले छुट्टाछुट्टै गाडीमा संकलन गर्छन’, उनले भने, ‘फोहोर संकलन भइसकेपछी कुहिने फोहोर सिधै ग्याँस प्लान्टमा लगिन्छ।  त्यहाँ ग्याँस तथा मल उत्पादन गरिन्छ । र नकुहिने फोहोर सुक्ष्म वर्गीकरण केन्द्रमा ल्याइन्छ ।’    

शाहका अनुसार सुक्ष्म वर्गीकरण केन्द्रमा आएका नकुहिने फोहोरमध्येबाट कागज, कार्टन, एलडि प्लास्टिक, पीपी प्लास्टिक, पानीका बोत्तल, टिन, सिसाका बोत्तल, आल्मुनियमका बोत्तल/बट्टा छुट्टछुट्टै वर्गीकरण गरिन्छ । यसरि वर्गीकरण भएका फोहोरलाई सम्बन्धित फ्याक्ट्रीमा पठाएर पुन: प्रयोगमा ल्याइने शाहले बताएका छन् ।

‘कागज तथा कार्टनलाई कागज फ्याक्ट्रीमा पठाउछौँ, त्यसबाट पुन: कागजजन्य सामाग्री तयार गरिन्छ’, उनले भने, ‘आल्मुनियम तथा फलामजन्य फोहोर फलामजन्य फ्याक्ट्रीमा पठाउछौँ र त्यसबाट सरिया, रड, टिन लगायतमा सामाग्री तयार हुन्छन ।’

यसरि खेर जाने फोहोर पुन: प्रयोग हुँदा एकातर्फ फोहोरको दिगो व्यवस्थापन हुने र अर्कोतर्फ़ पर्यावरण जोगिनुका साथै मानव स्वास्थ्यका लागि पनि लाभदायक हुने शाहले बताएका छन् । 

सयौंको रोजगारीको थलो 

सुक्ष्म वर्गीकरण केन्द्रमा हाल १०० जनाको हाराहारीमा कर्मचारी छन् । जसमध्ये १९ जना फोहोर संकलन गाडी चालक र १९ जना सहयोगी रहेको शाहले बताएका छन् । बाँकी कर्मचारी ग्याँस प्लान्ट र सुक्ष्म वर्गीकरण केन्द्रमा भएको शाहको भनाई छ ।

औपचारिक रुपमा फोहोर संकलन तथा व्यवस्थापन कार्य थालेसंगै धनगढी लगायतका विभिन्न ठाउँका सयौँ नागरिकले रोजगारी पाएको शाहले बताए ।

सफा हुँदै खोला/नाला 

फोहोर व्यवस्थापनका लागि प्लाण्ट नै स्थापना गरेर काम सुरु भएसंगै विगतमा फोहोरका डंगुरले दुर्गन्धित हुने धनगढीका खोला / नाला सफा हुँदै गएका छन् । यसले धनगढीको सौन्दर्यतालाई थप सुन्दर बनाउदै गएको छ । फोहोर संकलनका लागि घरघरमै गाडी जान थालेपछि अव्यवस्थित फोहोरमैलाको समस्या निरन्तर घट्दै गएको छ ।   

सिकाईकेन्द्रका रुपमा पनि स्थापित हुँदै 

धनगढीको सुक्ष्म वर्गिकरण केन्द्र फोहोर संकलन तथा वर्गिकरण केन्द्र मात्र होइन, सिकाइ केन्द्रका रुपमा पनि विकसित हुँदै गएको शाहले बताए ।

‘हामी फोहोरको  संकलन र वर्गीकरण त गर्छौं नै, यो संगै सुक्ष्म वर्गीकरण केन्द्र सिकाई तथा अवलोकन केन्द्रका रुपमा पनि विकसित भएको छ’, उनले भने, ‘यहाँ विभिन्न विद्यालयबाट विद्यार्थीहरु अवलोकन गर्न आउँछन् । यासबाहेक विभिन्न पालिकाबाट पनि अवलोकन गर्न आउँछन्, हालसम्म विभिन्न ३२ पालिकाबाट भ्रमण तथा अवलोकन गर्न आइसक्नुभएको छ।’ 

सफल हुँदै मेयर गोपाल हमालको योजना 

त्यसो त धनगढीमा फोहोरको दीर्घकालीन समाधानका लागि ग्याँस प्लाण्ट र  सुक्ष्म वर्गिकरण केन्द्र स्थापना गर्ने योजना गोपाल हमालको हो । हमालकै निर्देशन र नेतृत्वमा धनगढीमा फोहोरको दिगो व्यवस्थापन कार्य सुरु भएको हो । फोहोरको दिगो व्यवस्थापनको कार्य  सुरु भएसंगै संधै फोहोर हुने धनगढीका सार्वजनिक स्थल अहिले सफा हुन थालेका छन् । यसले हमालले देखेको सफा र फोहोरमुक्त धनगढीको सपना सफलताको नजिक पुगेको छ ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार