बुटवल : सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छलेर लैजाँदै गरेको अवस्थामा ३३ लाख बराबरकाे मोबाइल बरामद गरेको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका- ४ बडसारबाट सशस्त्र प्रहरी हरपुर गुल्मबाट खटिएको गस्ती टोलीले आज ८८ थान मोबाइल बरामद गरेको हो ।
भारतीय मोटरसाइकल चढेर आएका व्यक्तिले झोलामा राखेर लैजाँदै गरेको मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण नवलपरासीका सूचना अधिकारी डिएसपी यज्ञमान साउदले जानकारी दिए ।
बरामद गरिएका मोबाइलमा ४० थान आईफाेन र ४८ थान पाेकाे नामक ब्रान्डका रहेका छन् । बरामद भएका मोबाइलको मूल्य ३२ लाख ७० हजार रहेको छ । बरामद मोबाइल र माेटरसाइकललाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ । कारोबारमा संलग्न व्यक्ति भने गस्ती टोलीले घेरा हाल्ने सङ्केत पाएपछि झोलासहितको मोटरसाइकल छाडेर भागेका छन् ।
प्रतिक्रिया दिनुहोस्