फेसबुककै भरमा नक्कली इन्जिनियरसँग प्रेम, विवाहको प्रलोभनमा प्रहरी हवल्दारकै १६ लाख स्वाहा !

काठमाडौँ : नेपाल प्रहरीले बेलाबखत सर्वसाधारणलाई सूचित गर्दै भन्छ– ‘चिनजान नभएको व्यक्तिलाई फेसबुकमा साथी नबनाउनू । अझ त्यस्ता व्यक्तिका स्टाटसमा लाइक र कमेन्ट त गर्दै नगर्नू ।’ तर, फेसबुकमा नचिनेका व्यक्तिलाई साथी बनाएर ठगिने वा विभिन्न फन्दामा पर्ने क्रम भने रोकिएको छैन । सशस्त्र प्रहरीकै एक महिला अधिकारी (हवल्दार) ठगको फन्दामा परेकी छन् । 

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ का २७ वर्षीय नरेन्द्र साउदसँग उनको फेसबुकमै चिनजान भयो । शुरूमा साउदले नै ती महिला प्रहरीलाई साथी बन्न रिक्वेष्ट पठाएका थिए । साउदले आफू काठमाडौंमा सिनियर डिभिजनल इन्जिनियर (सीडीई) भनेर परिचय गराएका थिए । 

Dengue

९ महिनासम्म साउद र ती महिलाबीच गफ चल्यो । सशस्त्रकी ती महिला साउथ सुडानमा मिसनमा थिइन् । साउदले पैसा ठग्ने उद्देश्यले नै उनलाई ‘दुहुनो गाई’ बनाए । फेसबुकमा गफ चल्दै गर्दा साउदले एक दिन आमालाई क्यान्सर भएको र काठमाडौंको महँगो अस्पतालमा उपचार गराइरहेको बताए । 

शुरूमा तीन/चार लाख रुपैयाँ मागे । तर, विवाहकै प्रस्ताव गरिरहेका साउदले फकाएर पैसा पठाउन लगाए । ‘विवाह गरेर काठमाडौंमा सेटल हुने भनेर फकाउँदै साउदले ती महिलासँग रकम मागेका थिए,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘यतिसम्म कि साउदले आमाको नक्कली फेसबुक आईडी खोलेर महिलासँग गफ गराउँथे ।’ 

साउदले फेसबुकमा दीपज्योति नामको नक्कली आईडी बनाएर आमा भन्दै महिला प्रहरीसँग पटकपटक गफ गराएका थिए । ‘मेरो छोराले तिमीलाई धेरै माया गर्छ, तिमीहरूको जोडी पनि मिल्छ’ भन्दै नक्कली फेसबुक आईडीबाट महिलासँग गफ हुने गरेको थियो । उनी विश्वासमा पर्दै गइन् । 

तीन पटक गरेर १६ लाख रुपैयाँ पठाएकी ती सशस्त्र प्रहरी महिला अधिकारी सुडानबाट असारको पहिलो साता काठमाडौं उत्रिइन् । साउदलाई फोन गरिन् । उनले आफू कामले कञ्चनपुर पुगेको बताए । सशस्त्र प्रहरी महिला अधिकारीले साउदको बारेमा सबै बुझिन् । 

उनी कुनै सीडीई नभएर कञ्चनपुर निवासी रहेको थाहा पाइन् । साउदले अविवाहित भनेर ढाँटे पनि उनको विवाह भइसकेको र एउटा बच्चासमेत रहेको रहस्य पत्ता लगाइन् । त्यो कुरा साउदलाई थाहा थिएन । बरु उल्टै साउदले आमाको उपचारका लागि भन्दै पाँच लाख मागेका थिए । 

त्यसपछि मात्रै सशस्त्र प्रहरी महिला अधिकारीले आफू ठगिएको थाहा पाइन् । तब उनी पुगिन्, टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय । साउदलाई काठमाडौं बोलाएर फसेको रकम उठाउने योजनाअनुसार पाँच लाख लिन बोलाइन् । असार २६ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका साउदलाई प्रहरीले नियन्त्रणमा लियो । थप अनुसन्धान गर्दा साउदले कुवेतमा एक अस्पतालमा काम गरिरहेकी एक महिलाबाट ८ लाख ३० हजार ठगेको पत्ता लाग्यो ।

साउद पक्राउ परेको सार्वजनिक भएपछि ती महिलाका भाइ साउदविरुद्ध उजुरी दिन अनुसन्धान कार्यालय पुगेका थिए । कुवेतमा रहेकी महिलालाई पनि विवाह गर्ने भनेर फकाएका थिए । ती महिलालाई समेत साउदले काठमाडौंमै घर रहेको र यतै बस्ने गरेको बताएका थिए । 

अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराइका अनुसार साउदले अरु महिलालाई पनि यसैगरी ललाइफकाइ गरेर ठगेको आशंका छ। ‘कोही कसैले फेसबुकमा साथी बनाउन रिक्वेष्ट पठायो भन्दैमा आँखा चिम्लेर किन स्वीकार गर्नु ?,’ उनले भने, ‘एकपटक भेटेको छैन, पटकपटक पैसा पठाउभन्दा कुन विश्वासले पठाउनू ? यसमा ठगले त ठग्ने नै भइहाल्यो, पैसा खुरुखुरु पठाउनेको पनि हदैसम्मको लापरबाही हो ।’ 

प्रहरीले बुझ्दै जाँदा साउदको कञ्चनपुरमा दुई वटा स्कुल सञ्चालनमा रहेछन् । परिवारको आर्थिक हैसियत राम्रै हुँदा पनि साउदले ठगी धन्दा गरेको प्रहरीले जनाएको छ । साउदविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा ठगी र आपराधिक विश्वासघातमा मुद्दा गरेर अनुसन्धान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार