माइत जान्छु भनेर ४ वर्षीय छोरासहित घरबाट निस्केकी पत्नी जब भुटान पुगेको पत्ता लाग्यो….

काठमाडौँ : बाँकेको वैद्यनाथ गाउँपालिका-७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर ४ वर्षीय छोरासहित घरबाट हिँडिन्। 

श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए। तर जति प्रयास गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका लागि भारतमा रहेका ठकुरी ४ दिनमै नेपाल फर्केर सोधिखोजीमा लागे।

Dengue

यतिञ्जेलसम्म उनकी श्रीमती भुटानमा बेचिइसकेकी थिइन्। यसबारे जानकारी पाएपछि उनी छाँगाबाट खसेजस्तै भए।

‘गत वैशाख ५ गते माइत जान्छु भनेर ४ वर्षीय छोरासहित श्रीमती घरबाट निस्किएकी थिइन्। माइत पुगेर फोन गरिनन्, मैले गर्दा पनि सम्पर्क हुन सकेन। त्यतिबेला म रोजगारीका लागि भारत गएको थिएँ। श्रीमती सम्पर्कमा नआएपछि चार दिनमै घर फर्किएर बुझ्दा त श्रीमती र छोरालाई दलालले भुटान लगेर बेचिसकेका रहेछन्’, ठकुरीले भने। 

ठकुरीले दिएको जानकारीअनुसार उनकी श्रीमती जेठानी दिदीसँग घरबाट निस्के पनि नजिकैको मदनचोक बजार पुगेपछि एकाएक सम्पर्कविहीन भएकी थिइन्। बुझ्दै जाँदा नेपालगन्जकी रमिला विक नाम गरेकी महिलाले ३० हजार भारतीय रुपैयाँमा श्रीमती बेचबिखन गरेको थाहा पाएको उनको भनाइ छ।

‘श्रीमती र छोराका बारेमा जानकारी प्राप्त गर्न हामीले फेसबुकमार्फत हराएको सूचना सार्वजनिक गरेका थियौँ। त्यही सूचनाका आधारमा भुटानमा गाडी चलाउने नेपाली सवारी चालक सुरज विकमार्फत खबर पाएपछि भुटानमा बेचिएको थाहा भयो’,  गणेशले सुनाए,‘सामाजिक सञ्जालमा मेरो अन्तर्वार्ता र फोन नम्बर भेटेपछि उहाँले बन्दी बनाएर राखेको घर नजिकै श्रीमती र छोरालाई देखेको भनेर खबर गर्नुभएको थियो।’

सामाजिक सञ्जालमा राखिएको तस्बिरअनुसार सोधीखोजी गर्दा ठेगाना र नामसमेत मिलेको भनेर विकले आफूलाई जानकारी गराएको ठकुरीले बताए।

‘उहाँलाई श्रीमतीले जतिसक्दो चाँडो उद्धारका लागि पहिल गरिदिन र छोराको स्वस्थ्य अवस्था पनि ठीक नभएको खबर गरेकी रहिछन्, त्यसयता उद्धारका लागि प्रहरी प्रशासनमा धाइरहेका छौँ तर जति प्रयास गर्दा पनि कुनै निकायबाट सहयोग पाएका छैनौँ’, उनले गुनासो गरे।

सोही वडाका अध्यक्ष दिनेशकुमार थारुले उद्धारका लागि वडा र पालिकामा खबर गरेको पुष्टि गरे।

‘यस खबरले हामी पनि चकित भएका छौँ। उहाँकी श्रीमती हामीले चिनेकी र राम्रो छवी भएकी महिला हुन् तर कसरी भुटानमा बेचिनुभयो!  हाम्रा लागि पनि खोजी र चासोको विषय बनेको छ’, वडाध्यक्ष थारुले भने,‘खबर पाएदेखि खोजतलासका लागि चारैतिर पहल गरिरहेका छौँ तर सफल भएका छैनौँ।’

उद्धारका लागि नेपाल प्रहरी र पालिकाको वैदेशिक रोजगार शाखामार्फत समन्वय भइरहेको उनले बताए।

‘वैदेशिक रोजगार शाखा संयोजक धनबहादुर विकसँग समन्वय गरी सबै ठाउँमा सोधपुछ गर्दा भुटानमा रहेको निश्चित भएको छ। अब जतिसक्दो छिटो प्रहरी प्रशासनको सहयोगमा नेपाल झिकाउने प्रयासमा लागेका छौँ’, उनले भने। 

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले ‘श्रीमती लापत्ता भएको र खोजी गरी पाऊँ’ भनी उजुरी आए पनि भुटानमा बेचिएको बारेमा लिखित जानकारी नआएको बताए।

भुटानमा बेचिएको वा बन्दी बनाएको उजुरी आएमा प्रहरीले तदारूकताका साथ सोधिखोजी गर्ने पनि उनको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार