काठमाडौँ : अहिले नेपालमा कृषि क्षेत्रमा काम गर्ने पुरुष श्रमशक्तिको अभाव देखिएको छ । वैदेशिक रोजगारीका कारण स्थानीय स्तरमा कृषि क्षेत्रमा काम गर्ने पुरुष श्रमशक्तिको अभाव भएको देखिएको हो ।
मानिसहरू पहिले कृषि पेसालाई सबैभन्दा उत्कृष्ट पेसा मान्दथे । जागिरलाई मध्यम र व्यापार-व्यवसायलाई निम्न स्तरको पेसाको रुपमा हेरिन्थ्यो । तर अब समय बदलिएको छ । अहिले मानिसहरू व्यापार व्यवसायलाई उच्चस्तरको पेसाको रुपमा हेर्छन् भने जागिरलाई मध्यम र कृषिलाई निम्न स्तरको पेसाका रुपमा व्यवहार गर्दछन् ।
त्यसैले पनि आजभोलिका युवाहरू कृषि पेसा प्रति आकर्षित नभई वैदेशिक रोजगारीमा आकर्षित भएको र स्थानीय स्तरमा पुरुष श्रमशक्तिको अभाव भएको भक्तपुरका ८२ वर्षीय किसान केदार प्रधान बताउँछन् ।
भक्तपुरका किसान केदार ‘बा’ श्री गणेश प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यापक समेत हुन् । उनले २७ वर्षसम्म शिक्षण गरे । उनी दिउँसो विद्यालयमा शिक्षण गरेपनि बिहान बेलुकी खेतबारीमा काम गर्थे ।
उनले अहिले शिक्षण गर्न छोडेको पनि २१ वर्ष भइसकेको उनी बताउँछन् । उनले भने, ‘स्कुलको समयमा स्कुलमा पढाउँथे । स्कुलबाट छुट्टी भएपछि चैँ खेतीपाती नै गर्थे । पहिले पनि कृषि गर्थे । अहिले पनि गर्छु । पहिले धेरै गर्थे तर अहिले कम गर्छु ।’
उनी ८२ वर्षका उमेरमा पनि खेतबारीमा काम गर्न रुचाउँछन् । उनी बिहान-बेलुकी खेतबारीमा जान्छन् र तरकारी, फलफूलहरूमा पानी हाल्ने र झारहरू उखेल्ने कामहरू गर्छन् । उनले पहिले ठूलो क्षेत्रफलमा कृषि गरेपनि हाल ती सबै जग्गाहरू भाँडामा दिएर ५ रोपनीमा मात्रै खेती गरेको उनले सुनाए ।
उनका अनुसार अहिले भक्तपुरमा खेतबारीमा काम गर्नका लागि पुरुष श्रमशक्तिको अभाव भएको छ । उनले आफ्ना छोरा बुहारी पनि रोजगारीमा व्यस्त भएकाले आफ्नो खेतमा अहिलेसम्म धान रोप्न नसकेको बताए ।
उनले खेतमा ट्याक्टर लगाउन र आलि लगाउने मान्छे नपाएको गुनासो गरे । उनले भने, ‘आफै सकी नसकी गर्नुपरेको छ । काम गर्नका लागि केटा मान्छेहरू पाउँदैन अहिले । महिलाहरूले नै कुटो-कोदालो गर्नुपर्छ । उमेर भएकाहरू पनि कम छन् । ’
उनले अहिले पनि उमेर पुगेका बूढाबूढीहरूले नै खेती गर्नुपर्ने बाध्यता रहेको बताए । यस कामका लागि युवाहरूको आकर्षण कम भएको उनको भनाई छ ।
उनलाई पहिले कृषि र श्रमशक्तिको अवस्था कस्तो थियो भनेर प्रश्न गर्दा उनी विगतलाई सम्झँदै भन्छन्, ‘पहिले रोजगारी कम थियो । मानिसहरू विदेश जाँदैन थिए । त्यसैले आफ्ना खेतीपाती चैँ राम्रोसँग गर्थे । सबैजना कृषिमै निर्भर थिए । खेती मै भर पर्नु पर्थ्यो। खेतबारीमा काम गर्ने मान्छे पनि पाइन्थ्यो । मेलापात र अर्मपर्म गरिन्थ्यो ।’
उनले पहिले खेतबारीमा काम गर्ने कामदारहरू प्रशस्त पाइने र मेलापात, अर्मपर्म गरेर खेतीपाती गर्ने गरेको बताए । अहिले धेरैजसो युवाहरू वैदेशिक रोजगारीमा गएका कारण कृषि क्षेत्रमा श्रमशक्तिको अभाव भएको उनको भनाई छ ।
साथै उनले कृषि गर्नका लागि अहिले धेरै नै पानीको अभाव भएको बताए । उनले आकाशे पानीको भर पर्नुपर्ने र पानीको अभाव भएकाले नै धान रोप्न ढिला भइरहेको बताए । उनी युवाहरूलाई भक्तपुरमा कृषि गर्नु उत्पादनमूलक र फाइदाजनक भएको भन्दै कृषि पेसा अँगाल्न पनि सल्लाह दिन्छन् ।
त्यस्तै भक्तपुरका अर्का किसान प्रदीप प्रधानले खेतबारीमा काम गर्ने पुरुष श्रमशक्ति खोजे पनि नभेट्टाउने बताए । उनले आफ्नो पुर्ख्यौली पेसा कृषि भएपनि विगत ४ वर्षेदेखि मात्रै व्यावसायिक कृषि सुरु गरेको बताए ।
उनले हाल १२ रोपनी जग्गामा गोलभेँडा खेती गर्दै आएका छन् । अहिले उनको खेतबारीमा काम गर्ने कामदारहरू महिलाहरू मात्रै भएको उनले बताए । भने, ‘केटामान्छे त छैन भनेपनि हुन्छ । एकदमै कम छ ।’
उनले केटामान्छेको काम पनि केटी मान्छेले नै गर्ने गरेको बताए ।
डडेलधुराका किसान बलबहादुर भाट वि.सं २०७३ सालदेखि भक्तपुरमा १२ रोपनी जग्गा भाडामा लिएर गोलभेँडा खेती गर्दै आएका छन् । उनले गोलभेँडा खेतीमा पात काट्ने, गोलभेँडा टिप्ने र गोलभेँडाको बोटमा धागो लाउने कामदार आवश्यक पर्ने बताए ।
उनले उक्त कामका लागि मान्छे प्रशस्तै पाए पनि छोरी मान्छे मात्रै पाएको बताए । उनले भने, ‘काम गर्ने मान्छे त पाइरहेको छ । तर केटी मान्छे मात्र हो । केटामान्छे त खोजे पनि छैन ।’
बद्लिँदो समयसँगै मानिसका आवश्यकताहरू पनि बढ्दै गइरहेको छ । ती नै आवश्यकताहरू पुरा गर्न अहिले हरेक घरबाट एक न एक परिवारका सदस्यहरू प्रत्येक वर्ष बिदेसिने गरेका छन् । फलस्वरुप स्थानीय स्तरमा पुरुष श्रमशक्तिको अभाव भएको छ । महिला र वृद्धहरू एक्लैले नै खेतबारीमा काम गर्नुपर्ने बाध्यात्मक परिस्थितिको सृजना भएको छ भने उनीहरूले काम गर्न नसकेको अवस्थामा गाउँका कतिपय खेतबारी र जग्गा जमिनहरू बाँझो र उजाड बन्दै गइरहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्