सेयर बजारमा छायो रौनक

काठमाडौँ :  लामो समयपछि सेयर बजारमा उच्च सुधार आएको छ । निरन्तर गिरावटले दुई हजारको विन्दुमा रुमल्लिएको बजारमा एकाएक रौनकता छाएको छ । मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचकमा ४७ अङ्कको सुधार आएको छ भने कारोबार रकम साढे चार अर्बमाथि पुगेको छ ।

मङ्गलबार नेप्से परिसूचक ४७.०४ अङ्कले उकालो लागेर २१००.४३ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.९४ अङ्कले उकालो लागेर ३७०.७१ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से २.२९ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.४७ प्रतिशतले उकालो लागेको छ ।

Dengue

मङ्गलबार सेयर बजार खुलेको एक मिनेट २३ सेकेन्डमा नै नेप्से चार प्रतिशतले उकालो लागेर २० मिनेटका लागि सेयर कारोबार नै बन्द भएको थियो । त्यसपछि खुलेको बजार १६ सेकेन्डमा नै अर्को एक प्रतिशतले उकालो लागेर सेयर कारोबार पुनः ४० मिनेटका लागि बन्द भएको थियो ।

मङ्गलबारको सेयर बजारले २१ सयको मनोवैज्ञानिक लाइन पार गर्दा लगानीकर्ताको मनोबल पनि बढेको छ । सबै समूहका सूचक उकालो लागेको यो दिन पछिल्लो समय निरन्तर तल रहेको बैङ्किङ उपसमूहमा उत्साह छाएको छ ।

सरकारले बजेट ल्याएदेखि नै सेयर बजारले सुधारको गति लिन सकेको थिएन । सोमबारदेखिको राजनीतिक घटनाक्रमले बजारमा प्रभाव परेको लगानीकर्ताहरू बताउँछन् ।

मङ्गलबार ३१५ कम्पनीको एक करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर ६० हजार ७२० पटक खरिदबिक्री हुँदा चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ५८ करोड रुपियाँले बढी हो ।

मङ्गलबार १२ करोड ३३ लाख ८५ हजार ५६९ रुपियाँ बराबरको सेयर कारोबार भएर एनआरएन इन्फ्रस्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

तेस्रो दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.३० प्रतिशतले उकालो लागेको छ भने व्यापार ३.१२ प्रतिशत, बैङ्किङ ३.०३ प्रतिशतले उकालो लागेको छ । यस्तै अरू उपसमूहको वृद्धि पनि अघिल्ला दिनको तुलनामा उच्च रहेको छ ।

सेयर बजार अपेक्षा र विश्वासको व्यापार भएको भन्दै ब्रोकर विष्णु गिरी यतिबेला लगानीकर्तामा राजनीतिक परिवर्तनसँगै सेयर बजारमा पनि केही होला कि भन्ने अपेक्षा बढेको बताउनुभयो ।

लगानीकर्ता ईश्वरी पौडेल बजेटपछि लगानीकर्तामा छाएको निराशा मङ्गलबार रौनकतामा बदलिएको भन्दै सेयर बजारका थोरै मात्र कुरा पनि सम्बोधन भएमा बजारले गति लिने बताउनुहुन्छ । नेपाल राष्ट्र बैङ्क साउनको पहिलो हप्ताभित्र आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याउने तयारीमा जुटिरहेका बेला मौद्रिक नीतिको प्रतीक्षामा रहेका लगानीकर्ता लचिलो मौद्रिक नीतिको अपेक्षामा रहेका कारण पनि आशा जाग्दै गएको छ ।

राष्ट्र बैङ्कले अहिले मौद्रिक नीतिका लागि निजी क्षेत्र तथा सरोकारवाला विभिन्न निकायबाट सङ्कलन गरेका सुझाव समेटेर मौद्रिक नीति तयारीमा लागिरहेको जनाएको छ ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न सार्वजनिक कार्यक्रममै आगामी मौद्रिक नीति केही हदसम्मको लचिलो ल्याउने सङ्केत गरेका कारण लगानीकर्ता आशावादी बनिरहेका छन् ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार