बैतडी: बैतडीको पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभान विष्टको शव आफन्तले बुझेका छन्। शनिबार हत्या गरी मारिएका वीरभानको शव आफन्तले बुधबार मात्रै बुझेका हुन् ।
मृतकका आफन्तले मंगलबार पाँच जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेका थिए । पाँचै जना पक्राउ परिसकेपछि उनीहरुले आज शव बुझेका हुन् । वीरभानको शव सोमबार दिउँसो घाङल खोलामा फेला परेको थियो ।
उनको हत्या आरोपमा पक्राउ परेकी पाटन–६ कि शिक्षिका समेत रहेकी भागरथी विष्टले वीरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।
भागरथी सहित पक्राउ परेका पाँच जनामाथि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्