काठमाडौंको पहिलो निःशुल्क शौचालयले दिएको खुसी,

काठमाडौं : काठमाडौंको धरहरा, न्यूरोड, रत्नपार्क लगायतका स्थलमा मान्छेहरूको ओहोरदोहोर बाक्लै हुन्छ । सर्वसाधारणदेखि भिआइपीसम्मले भरिभराउ हुने यो क्षेत्रमा गाडीको चाप पनि उत्तिकै हुन्छ । विभिन्न पेसा व्यवसाय गर्ने र अन्य कामले यस क्षेत्रमा आउने मान्छेहरू न्यूरोड नजिकै महांकाल मन्दिरको आडैमा रहेको सुविधा सम्पन्न सार्वजनिक शौचालय प्रयोग गर्छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २२ मा अवस्थित यो सुविधा सम्पन्न शौचालयमा महिला, पुरुष र अपागंमैत्रीरुपमा निर्माण गरिएको छ । हजारौँले निःशुल्क सेवा लिने यो शौचालय हेर्दा आकर्षक मात्रै छैन सफा पनि उत्तिकै छ ।

Dengue

यस क्षेत्रमा आएर सुविधा सम्पन्न शौचालयको सेवा लिनेहरू शौचालयको बारेमा राम्रै प्रशंसा गर्छन् । उनीहरू शौचालयको सेवा सुविधा रहेको भन्दै खुसी व्यक्त गर्छन् ।

काभ्रे घर भएकी ज्ञानुमाया तामाङ काठमाडौंको सुनधारा वरपर पानी बेच्दै आफ्नो गुजारा चलाउँछिन् । उनले काठमाडौं आएर यस्तो काम गर्दै गुजारा चलाएको धेरै वर्ष भइसक्यो । तर, उनले पानी बेचेर कमाएको पैसाले उनको जीवन धानिएको छैन । पहिले पहिले त, पानी बेचेर कमाएको पैसा शौचालय गएरै सकिन्थ्यो ।

तर यस क्षेत्रमा सुविधा सम्पन्न सार्वजनिक शौचालय बनेपछि भने उनको थोरै भए पनि पैसा बचत भएको छ । जसबाट उनको एक छाक टार्न सकिने भएको छ । ‘दिनभरि कमाएको पैसाबाट पनि दिनमा शौचालय धेरै चोटि जान पर्ने हुन्छ । पानी बेचेर कमाएको पैसा यसमै खर्च हुन्थ्यो’उनले भनिन्, ‘अहिले महानगरपालिकाले निःशुल्क शौचालय बनाएको छ, शौच गर्दा पैसा लाग्दैन, यही पैसाले एक छाक टार्न पुगेको छ ।’

सार्वजनिक शौचालयले ज्ञानुमायालाई मात्रै होइन, रामेछापका दीपक बुढाथोकीको मुहारमा पनि खुसी ल्याइदिएको छ । दीपक लामो समय देखि कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका छन् । उनी धेरै जसो न्यूरोड वरपर र नजिकै रहेको वीर अस्पतालमा उनको काम परिरहन्छ । दिनहुँ यस क्षेत्रमा कामका लागि जाँदा शौचालय पनि जानु नै पर्ने भयो ।

तर अहिले उनलाई शौचालय जाँदा पैसा तिर्नुपरेको छैन । उनले अहिले अस्पताल र अन्य कामका लागि यस क्षेत्रमा आएका बेला शौच जाँदा पैसा तिर्न नपरेको सुनाए । उनले अस्पतालको भन्दा पनि धेरै सफा र अन्य सेवा सुविधा पनि राम्रो रहेको बताए ।

उनले पहिले पहिले काठमाडौंको सडकमै दिसा पिसाब गरिरहेको देखे पनि अहिले त्यस्तो अवस्था नरहेको बताउँदै भने, ‘जसले गरे पनि यो काम धेरै राम्रो रहेको छ । यसले गर्दा बाटो हिँड्नेहरूलाई पनि सुविधा भयो । सरकाले यस्ता सुविधा मूलक कार्यहरू गरेमा युवाहरूको पनि साथ र सपोर्ट रहन्छ ।’

काठमाडौँमै रहेकाहरूलाई मात्रै नभएर पहिलो पटक काठमाडौं आएकाहरूलाई त यो शौचालयले झनै राहत दिएको छ । सवारी चालक र अन्य यात्रीका लागि पनि यो शौचालय उपयोगमा राहत मिलेको दीपक बताउँछन् ।

‘पहिलो चोटि काठमाडौं आउने हरूलाई झनै धेरै राहत मिलेको छ’उनले भने,‘यस्ता कामहरूलाई निरन्तर दिँदा राम्रो हुन्छ, ठाउँ ठाउँमा यस्ता निःशुल्क शौचालय भएमा चालक र सहचालक यात्रुहरू देखि सम्पूर्ण व्यक्तिहरूले समेत सुविधा पाउँछन् ।’

सार्वजनिक शौचालयले रोजगारी
सुविधा सम्पन्न सार्वजनिक शौचालयले सर्वसाधारणलाई सहज सेवा मात्रै होइन, केहीलाई रोजगारी समेत दिएको छ । सार्वजनिक शौचालयको रेखदेख र सरसफाइका लागि कर्मचारी खटिएका छन् ।

५५ वर्षीय विजय देउला डल्लुबाट बिहान ६ बजे नै शौचालयको काममा खटिन महांकाल मन्दिरको आडैमा रहेको सार्वजनिक शौचालय आइपुग्छन् । उनी बिहान ६ बजेबाट राति ९ बजेसम्ममै शौचालयको काममा हुन्छन् । उनी करिब १० महिना देखि उक्त शौचालयको रेखदेख देखि लिएर सफा पनि गर्दै आएका छन् । जसबाट उनले दिनको ७२५ रुपैयाँ पारिश्रमिक पाउँछन् ।

शौचालयको कामसँगै उनले नजिकै आफ्नो व्यापार पनि चलाएका छन् । उनले नजिकै चाउचाउ बिस्कुट लगायत मिठाईहरू पनि बेच्दै आएका छन् । ‘काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले हामीलाई रेखदेख गर्नको लागि खटाएका हुन’ उनले भने,‘यसको बापत हामीहरूलाई दिनको ७२५ तलब दिने गरेको छ ।’

सार्वजनिक शौचालयको रेखदेख र सरसफाइमा वडाले मात्रै होइन, महानगरले पनि कर्मचारी खटाएको छ । महानगरपालिकाका कर्मचारी बिहान र दिउँसो काम गर्छन् त्यसपछि वडाबाट खटिएका कर्मचारीले काम गर्ने उनले बताए । उनले शौचालयमा आउनेहरूले शौचालयको प्रशंसा गर्दै आफूलाई पनि धन्यवाद दिने गरेको भन्दै खुसी व्यक्त गरे ।

यहाँ शौच गर्न आउने मान्छेहरू पनि धेरै खुसी भएर जान्छन्, मलाई पनि धन्यवाद दिएर जाने गर्दछन् । दैनिक हजारौँ मानिसहरूले सेवा लिन्छन्, उनले भने, ‘यसलाई अझै बढी उपयुक्त र राम्रो बनाउनको लागि अझै फराकिलो गरी शौचालय बनाउँदा राम्रो हुने थियो । यति सम्म भए पनि गर्ने वडाध्यक्ष चिनीकाजी महर्जनलाई धेरै धन्यवाद दिन चाहन्छु ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार