बैतडी : भारतको बेङ्गलोरमा मालिकले आफ्नो कोठीमा बन्धक बनाएर राखेकी २५ वर्षीया बैतडीको पाटन नगरपालिका ४ की बिमला चन्दको उद्धार गरिएको छ। भारतका रहेका बैतडी सहित सुदूरपश्चिमका युवाहरुको सहयोगी समुहले चन्दको उद्धार गरेको हो।
४ वर्ष पहिले श्रीमानसँगै भारत गएकी बिमला दुई वर्षदेखि एक साहुको घरमा बन्धक रहेकी थिइन्। पाटन–१ बाटुलासै (खैरबगड) माइत भएकी बिमला ४ वर्ष पहिले श्रीमानसँगै भारतको बेङ्गलोर पुगकी थिइन्।
आर्थिक अवस्था निकै दयनीय भएको अवस्थामा दुवै जना मिलेर कमाउने सहास बोकेर भारत हानिएकी बिमलाको परिवार ठूलो संकटमा परेको थियो। यतिका वर्षसम्म साहुको कुटाई र बन्धक जिवन बिताइरहेकी बिमलाका श्रीमानको कुनै अत्तोपत्तो छैन। बिमला भनिन् त्यही साहुले २ वर्ष अगाडी गाडीमा हालेर लगेका थिए त्यसयता श्रीमान दिपक चन्द अहिलेसम्म फर्किएर आएका छैनन्, भने बिमला त्यही साहुको घरमा बन्धक बस्न बाध्य बनेकी थिइन्।
केही समयअघि सोही घरमा काम गर्दै आएका उत्तर प्रदेशका सहकर्मीको सहयोगमा भारतमै काम गर्दै आएका बैतडीका युवाहरुसँग कुरा गराएका थिए। त्यसपछि त्यहाका नेपाली युवाहरुको समुहले उद्धार गरेको हो। विभिन्न युवा समाज तथा समुहमा आवद्ध नेपालीहरुले उनको उद्धार गरेको हो ।
पाटन नगरपालिकाले पनि पिडितको उद्धारका लागि आवश्यक पहल भइरहेको जनाएको थियो। भारतमै उद्धारमा खटिएका प्रतिनिधिहरुसँग समन्वय भइरहेको र यहाँको प्रशासनीक निकायसँग पनि समन्वय भएको पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहराले बताए। बुधबार उपप्रमुख बोहरा बिमलाका आफन्तलाई भेट्न सुरक्षा टोलीसहित उनको घरमै पुगेका थिए।
यसैगरी पाटन नगरपालिका–०१ का वडा अध्यक्ष तर्क सिह ठगुन्नाले चन्दको उद्धारमा भुमिका खेल्ने सबैलाई धन्यबाद दिएका छन। वडा अध्यक्ष ठगुन्नाले पनि बिभिन्न ब्यक्ति र निकायसंग चन्दको उद्धारको लागि पहल गरेका थिए।
प्रतिक्रिया दिनुहोस्