काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगीमा आरोपी गृहमन्त्री रवि लामिछानेमाथि निश्पक्ष छानबिन गर्न संसदीय छानबिन गठनको माग गरेको छ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले रवि लाछिानेमाथि सहकारी ठगीका सन्दर्भमा निश्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्।
उनले भने, ‘पात्रका कुरा होस् वा संस्थाका कुरा होस्, समग्र पीडितका कुरालाई केन्द्रमा राखेर एउटा संसदीय छानबिन समिति बनाएर अघि बढौं।’
गृहमन्त्री र प्रहरीले अनुसन्धान हुँदैछ भनेपछि आफूहरू विश्वस्त भए पनि आरोपी नै गृहमन्त्री भएपछि छानबिन समिति आवश्यक भएको उनको भनाइ छ।
‘गृहमन्त्री र प्रहरी प्रमुखले अनुसन्धान गर्दैछौं भनेपछि छानविन समिति आवश्यक थिएन,’ उनले थपे, ‘तर जब आरोपी रवि लामिछाने नै गृहमन्त्री बने, तब छानविनमा शंका हुने नै भयो। निश्पक्ष छानबिनका लागि संसदीय छानविन समिति आवश्यक भयो।’
उनले गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन समिति बनाएर सहयोग गर्न आग्रह गर्दै निश्पक्ष छानबिनम सहयोग गर्न सुझाव दिए।
उनले भने, ‘नयाँ गर्छु भनेर आउनुभएको छ। संसदीय छानबिन समिति बनाएर त्यसबाट अघि बढौं। दोषी हो भने कारबाही भोग्नुस्, निर्दोष हो भने छुटकारा पाउनुहोस्। नत्र यो आरोपले तपाईंलाई जीन्दगीभर छाड्नेछैन।’
प्रतिक्रिया दिनुहोस्