कञ्चनपुरका ठगुन्नाको चर्तिकला : होटलमा ४ ‘गलफ्रेन्ड’, डान्सबार धाउनकै लागि चोरी

कञ्चनपुर : पछिल्लो समय प्रहरीले यस्ता एक व्यक्तिलाई पक्राउ गरेको छ, जसले मोजमस्तीका लागि चोरीलाई शोख बनाएका छन् ।

डान्सबार र रेस्टुरेन्टमा पुगेर मोजमस्ती गर्न, केटी लिएर घुम्न चोरीलाई पेशा बनाएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ का २२ वर्षीय लोकसिंह ठगुन्नालाई प्रहरीले फागुन ३ गते पक्राउ गरेर सार्वजनिक गरेको छ ।

Dengue

उनले २०७५ सालदेखि चोरी गरेर काठमाडौं, पोखरा, नेपालगञ्जका ठूल्ठूला डान्सबार, दोहोरी साँझ र रेस्टुरेन्टमा मोजमस्ती गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई २० लाख चोरी गरेको आरोपमा ‘अप्रेसन सी४’अन्तर्गत पक्राउ गरेको हो । काठमाडौंको एक रेस्टुरेन्टको टेबल नम्बर सी४ मा क्लु भेटिएकाले त्यही नामबाट अपरेसन चलाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए ।

‘हामीले अनुसन्धान गरेर उनी भएको क्लु भेट्टाउँदा एक रेस्टुरेन्टको टेबल नम्बर सी ४ मा भेटिएकाले त्यही आधारमा अपरेसनको नाम राखेका हौं,’ एसएसपी खत्रीले भने । 

उनका अनुसार माघ २८ गते राति कालिमाटीमा रहेको मनोजकुमार गुप्ताको अमन खाद्य स्टोरबाट २० लाख रुपैयाँ चोरी भएको थियो । मनोजले बिहान प्रहरीलाई खबर गरेपछि प्रहरीले त्यहाँ रहेको सीसीटीभी फूटेजका आधारमा अनुसन्धान शुरू गरेको थियो । 

‘हामीले त्यहाँ भएको सीसीटीभीमा देखिएका व्यक्तिको हुलियाका आधारमा उपत्यकामा चोरी गर्ने व्यक्तिहरूको खोजी गर्‍यौं,’ एसएसपी खत्रीले भने, ‘मोडस अपरेन्डी (आपराधिक कार्यविधि अनुसन्धान)का आधारमा खोजी गरेका थियौं ।’

प्रहरीले हुलियाका आधारमा काठमाडौंमा रहेका डान्सबार तथा रेस्टुरेन्टमा पुगेर खोजी शुरू गर्‍यो । खोजी गर्ने क्रममा एक रेस्टुरेन्टको सीसीटीभी फूटेजमा त्यस्तै हुलियाका व्यक्ति देखिए । ‘खाद्य स्टोरमा देखेको हुलिया रेस्टुरेन्टमा देखियो, त्यसैका आधारमा खोजी गरेका हौं,’ एसएसपी खत्रीले भने । 

त्यसपछि खोजी गर्दै जाँदा ती व्यक्ति काठमाडौंबाट कैलाली गएको तथ्य फेला पर्‍यो । जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा कैलाली स्थित सत्कार होटल तथा रेस्टुरेन्टको कोठा नम्बर १२० बाट ठगुन्नालाई पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट झण्डै १३ लाख रुपैयाँ नगद, आइफोन र रेडमी मोबाइल तथा कपडा बरामद गरेको छ । 

‘उसले काठमाडौंको बसपार्कबाट आइफोन, रेडमीको मोबाइल र १ लाख रूपैयाँको कपडा किनेको देखिन्छ,’ एसएसपी खत्रीले भने, ‘उसको साथबाट १२ लाख ९६ हजार ५६५ रुपैयाँ नगद बरामद भएको छ ।’

ठगुन्ना यसअघि चोरीकै अभियोगमा कारागार बसेर छुटेको पाइएको छ । प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेर उनलाई चोरीको मुद्दा चलाएको थियो ।

उनी २०७५ मा पोखरामा पनि पक्राउ परेको ‘रेकर्ड’ फेला परेको छ । त्यतिबेला उनलाई इलाका प्रहरी कार्यालय बैदामले पक्राउ गरेको थियो ।

तत्कालीन इप्रका बैदामका प्रमुख डीएसपी नविन कार्कीका अनुसार त्यो समयमा उनले २ वटा सहकारी र मनी ट्राफन्सफरबाट २० लाख रुपैयाँ चोरी गरेका थिए ।

‘त्यो बेलामा ठगुन्ना २ वटा सहकारीबाट ९/९ लाख रुपैयाँ र मनी ट्रान्सफरबाट २ लाख चोरी गरेर फरार भएको थियो,’ डीएसपी कार्कीले भने, ‘त्यो पैसा काठमाडौंमा खर्च गरेर पोखरा फर्किएपछि पक्राउ गरेका थियौं ।’

पोखरा फर्किँदा उनीसँग १० लाख रुपैयाँ मात्र बाँकी थियो । ‘१० लाख रुपैयाँ काठमाडौंका डान्सबारहरूमा खर्च गरेर पोखरा फर्किएको बयान उसले दिएको थियो,’ कार्कीले भने ।

ठगुन्नाले पोखरामा २ वटा होटलमा २/२ जना युवती राखेको पाइएको छ ।

‘ती युवतीहरूसँग पालैपालो रात बिताउने गरेको अनुसन्धानमा देखिएको थियो,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने । 

उनले ४ युवतीलाई पालैपालो महंगा डान्सबार तथा रेस्टुरेन्टमा लैजाने गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार