धनगढी : संसद्का विपक्षी दलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै अन्यथा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरेका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक र शून्य समयमा विपक्षी दलले मन्त्री ज्वालाको राजीनामा माग गरेका हुन् ।
आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटना छानबिन गर्न गठित समितिले मन्त्री ज्वालालाई दोषी देखाएको भन्दै तत्काल बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराए । यस्तै रास्वपाका सभापति रवि लामिछानेलगायतले पनि ज्वालालाई बर्खास्त गर्न माग गरे । उनलाई छानबिन समितिले दोषी देखाएकाले पदबाट हटाएर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने चर्को माग छ ।
यस विषयमा प्रधानमन्त्रीले संसदमा बोल्दै प्रतिवेदन हेरेर आवश्यक निर्णय लिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।
गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल सुरु गरेको छ । पार्टीको आन्तरिक बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्