निन्द्राबाट ब्युझिएपछि भीम उपाध्याय भन्छन्- नेपाल जागेको बेला म सुतेको थिएँ !

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको दाबीहसित मुद्दा दायर गरेपछि पूर्वसचिव भीम उपाध्यायले प्रतिक्रिया जनाएका छन् । हाल अमेरिकामा रहेका उनले मेलम्चीमा कुनै गल्ती नगरेको दाबी गरेका छन् । उनले  मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही नखाएको जिकिर गरेका हुन् ।

उनले ०७३ कार्तिकदेखि ०७४ भदौ १२ गतेसम्म आफूले खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको र त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष रहेको जानकारी दिएका छन् । त्यस अवधिमा आफूबाट कुनै प्रकारको अनियमितता नभएको दाबी उनको छ ।

Dengue

“म ३ करोड नेपालीका सामु ढुक्कसँग भन्छु, मबाट देशहितको कामबाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन । देशको हितमा काम गर्नु गल्ती हुदैन त्यो पनि काकाकुल ४० लाख उपत्यकावासीलाई पानी खुवाउने पवित्र काम गर्दा,” उनको दाबी छ ।

उनले आफू अहिले विदेशमा रहेको स्वदेश फर्किनासाथ अदालतमा सफाइका लागि उपस्थित हुने पनि बताएका छन् ।

आइतबार अख्तियारले खानेपानी मन्त्रालयका तत्कालीन तीन सचिवसहित १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जसमा तत्कालीन सचिव उपाध्याय पनि छन् । आयोगले उपाध्यायविरुद्ध चार करोड ११ लाख बिगो माग दाबी गरेको छ ।

यस्तो छ उनले सामाजिक सञ्जाजालमा लेखेको स्पष्टीकरण

नेपाल जागेको बेला म सुतेको थिएँ। उठ्दा नेपाल सुतिसकेको छ। उठेपछि समाचार थाहा भयो , मुद्दा के हो विवरण बुझेपछि मेरो प्रतिक्रिया आउने नै छ।

मैले डेढ वर्ष अघि अख्तियारमा पुगेर यसबारेमा आफ्नो लिखित प्रतिक्रिया दिएको थिएँ। 

यो मुद्दा दायर गर्न पर्ने विषय नै हैन, प्रोजेक्ट फिनान्सियल एवं टेक्निकल म्यानेजमेन्टको ईस्यु मात्र हो भनेको थिएँ। तर अख्तियारले आफ्नो व्याख्यात्मक अधिकार प्रयोग गरेर मुद्दा दायर गरेछ। 

मुद्दामा रत्ती दम छैन। अधिकार हुनेले अधिकारको दुरुपयोग गर्न सक्छन्। यसको दोष लिने कुरा हुँदैन। 

मेलम्ची टनेल प्रोजेक्ट कूल रु ८ अर्बको ठेक्का हो, राज्यको हिनामिना ७ अर्ब भएको भनेर मुद्दा परेको भनिएको रहेछ। 

अभियोजनको डिटेल अझै अध्ययन गर्न पाएको छैन। मसँग सोधिएको कुरा तपाईँ अध्यक्ष भएको मेलम्ची विकास बोर्डका ५ सदस्यबाट अनुमोदन गराई किन ठेकेदारलाई बिना ब्याज पेस्की दिएको भनिएको हो, जति रकम पेस्की दिएको छ त्यसको ब्याज राज्यलाई हानी गर्‍यो भनिएको रहेछ। त्यो पेस्कीको ब्याज र ब्याजको स्याज वर्षौँको जोडेर बिगो कायम गरेको बुझियो।

अरूको बारेमा मलाई खास थाहा भएन तर मेरो बारेको कुरा यति रहेछ। म ०७३ कार्तिक देखि ०७४ भदौ १२ गतेसम्म खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको थिएँ, त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष थिएँ। 

म ३ करोड नेपालीका सामु ढुक्क सँग भन्छु, मबाट देश हितको काम बाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन। देशको हितमा काम गर्नु गल्ती हुँदैन त्यो पनि काकाकुल ४० लाख उपत्यकावासीलाई पानी खुवाउने पवित्र काम गर्दा। मेलम्चीका कसैले मलाई १ रूपैयाँ कुनै बेला दिएको छन् भने भनुन्। मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन।

रिटायर भएको नै अहिले ६ वर्ष बितिसकेको छ। 

खैर विशेष अदालतमा मुद्दा परिसकेको छ। विषय प्राविधिक बनेको छ। बदनियत नभई फौजदारी कसुर प्रमाणित हुने कुरा पनि हुँदैन। स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाइका लागि उपस्थित हुने नै छु।

मेरा सबै शुभचिन्तकहरूले मन खिन्न नपार्नुहोला। कहिले काहीँ भाइरस लागेर रुघाखोकी  लाग्छ। सामान्य उपचार गर्नुपर्छ । मेरो हकमा यो मुद्दामा रौँ बराबरको पनि दम छैन । 

बुझ्नुस् रु ८ अर्बको ठेक्कामा रु ७ अर्बको  भ्रष्टाचार? त्यो पनि सबै प्रक्रिया र बैंक ग्यारेन्टी लिएर दिएको पेस्कीको ब्याज गणना गरेर उक्त ब्याज र सोको स्याजसमेत जोडी निकालिएको हिसाब रकम हानी नोक्सानी गरेको आरोपमा! त्यो पनि बोर्डको अध्यक्ष जसको कुनै  कार्यकारी अधिकार हुँदैन, प्रोजेक्ट व्यवस्थापनले विज्ञहरूको सिफारिसमा ल्याएको अनुमोदन प्रस्ताव अनुमोदन गर्दा!

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार