जनकपुरधाम- मधेस प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरूले आफ्नो क्षमता अनुसारको उत्पादन गर्न सकेका छैनन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेस प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन २०७९ र ८० अनुसार यस प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरूले आफ्नो क्षमताको ५४.२५ प्रतिशत मात्र उपयोग गर्न सकेका छन्।
आर्थिक वर्ष २०७९ र ८० मा नमुना छनोटमा समेटिएका उद्योगहरूको क्षमता उपयोग आव २०७८ र ७९ को तुलनामा घटेको हो। सो आवमा औसत क्षमता उपयोग ६१.५२ प्रतिशत थियो।
उद्योगहरूको उत्पादन क्षमताका कमी आए पनि उत्पादनमा भने वृद्धि भएको छ। समीक्षा वर्षमा नमुना छनौटमा समेटिएका उद्योगहरूको उत्पादन वृद्धि औसतमा २८.७३ रहेको छ।
मधेसमा सञ्चालनमा रहेको उद्योगहरूमध्ये सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योगले आफ्नो क्षमता सबैभन्दा बढी उपयोग गरेको छ। सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योगले ९१.०५ प्रतिशत क्षमता उपयोग गरेको छ भने छाला र छालाको समान उत्पादन गर्ने उद्योगले सबैभन्दा कम १०.२३ प्रतिशत मात्र आफ्नो क्षमता उपयोग गर्न सकेको छ।
आव २०७८ र ७९ मा भने फेब्रिकेटेड धातुको उत्पादन गर्ने उद्योगले आफ्नो क्षमताको ९४.७२ प्रतिशत उपयोग गरेको थियो भने कागज उद्योगले सबैभन्दा कम १०.७९ प्रतिशत क्षमता उपयोग गरेको थियो।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार मधेसमा सञ्चालनमा रहेका उद्योगहरूमध्ये पेय पदार्थ, फेब्रिकेटेड धातुको समान, अन्न तथा पशु दाना, प्लाष्टिकजन्य उत्पादन, वनस्पति घ्यू तथा तेल, रासायनिक पदार्थ, छाला र छालाको सामान उत्पादन गर्ने उद्योगले पहिलेको तुलनामा आफ्नो उत्पादन क्षमता घटाएको छ।
लत्ता कपडा, खाद्य पदार्थ, सुर्तीजन्य वस्तु, धातुका उपकरण, गैरधातु खनिजजन्य र कागज तथा कागजका समान उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको हो।
मधेस प्रदेशको सम्पूर्ण भू-भाग समतल भागमा रहेकाले ढुवानीलगायत सबै यातायातको सहजता रहेको र दक्षिणतर्फको सीमा भारतसँग जोडिएकाले निकासी बजारको समेत अवसर रहे पनि प्रदेशमा औद्योगिक क्षेत्रसँग विभिन्न चुनौती रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिक्रिया दनुहोस्