बझाङ – मुलुकी अपराध संहिता फौजदारी कार्यविधिमा बाल विवाह गरे वा गराएमा दण्ड सजायको व्यवस्था तोकिएको छ । बाल विवाह गर्ने वा गराउनेलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिमानाको व्यवस्था छ ।
२० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । त्यस्तो विवाह स्वतः बदर हुने कानुनी व्यवस्था रहेको छ । तर, बझाङका सबै पालिकामा बाल विवाहले प्रसय पाइरहेको छ । कानुनी व्यवस्थाविपरीत स्वेच्छिक तरिकाले धमाधम बाल विवाह भइरहेका छन् ।
२० वर्ष नपुगेर विवाह गर्न पाइँदैन भनिएको भए पनि २० वर्ष पुग्नुअघि नै दुई–तीन छोराछोरीका आमा, बुबा बनेका उदाहरण बझाङका सबै ग्रामीण बस्तीमा पाइन्छन् । बाल विवाह न्यूनीकरणका लागि भन्दै जिल्लामा सञ्चालित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरी करोडौं रकम खर्च गरेको पाइन्छ । सो लगानी भने बालुवामा पनीसरह बनेको छ ।
अभिभावकहरूको मञ्जुरीबिना नै भागेर प्रेम विवाह गर्नेहरूको संख्या धेरै रहेको छ । विद्यालयमा ८ देखि १० कक्षामा अध्यन गर्ने किशोर–किशोरीहरूले भागेर विवाह गर्ने गरेका छन् । उमेर नपुग्दै विवाह गर्दा बच्चा जन्माउने, अध्यन छुट्ने, जन्मेका नवजात शिशु कुपोषित हुने, पछि गएर उनीहरूले आत्महत्यासम्म गर्ने र बहुविवाह गर्ने जस्ता धेरै समस्या खेप्नुपरेको छ । बाल विवाहले जिल्लामा विकराल रूप लिइरहेको छ ।
दुर्गाथली गाउँपालिकाकी सिन्जी मोर (नाम परिवर्तन) अहिले १८ वर्षकी भइन् । उनी ९ कक्षामा पढ्दैगर्दा छिमेकी केटासँग उनको प्रेम भयो । १७ वर्षको उमेरमै दुवै जनाले भागी विवाह गरे । १८ वर्ष नुग्दै उनी गर्भवती भइन् र छोरा जन्मियो । छोरा जन्मिएको नौ दिन नपुग्दै नवजात शिशुको मृत्यु भयो । उनको विद्यालय पनि छुटेको छ । गृहणीको काम गरेर बस्नुपर्ने बाध्यता उनमा छ ।
त्यस्तै, दुर्गाथली गाउँपालिकाकी अनि विक ९नाम परिवर्तन०को उमेर १९ वर्ष भयो । उनले पनि १७ वर्षकै उमेरमा विवाह गरिन् । उनको साथमा १ वर्षीया छोरी छन् । उनी मात्रै नभई उनकै गाउँकी सिर्ना विक (नाम परिवर्तन)ले ३ वर्षअघि १६ वर्षकै उमेरमा भागी विवाह गरेकी थिइन् । उनको साथमा२ वर्षकी छोरी छन् । सिर्नको पढाइ पनि बीचमै रोकिएको छ ।
उनको जस्तै सिमृत विक ९नाम परिवर्तन०ले समेत प्रेम विवाह गरेकी छन् । उनले पनि २० वर्ष नपुग्दै विवाह गरेकी हुन् ।
यता, मष्टा गाउँपालिका–२ की रजनी ओखेडा १५ वर्षकी भइन् । उनले १५ वर्षकै उमेरमा सुत्केरी भइन् । ८ कक्षामा अध्यन गर्दा उनले १४ वर्षको उमेरमा विवाह गरिन् । १५ वर्षको उमेरमा उनी सुत्केरी भइन् । उमेर नपुग्दै सुत्केरी भएकी उनले जुम्ल्याह छोरा पाइन् । एउटा शिशु १२ सय ग्रामको र अर्को शिशु १७ सय ग्रामको जन्मियो । १२ सय ग्रामको शिशुको जन्मिएको पाँच दिनपछि मृत्यु भयो ।
उनीसँग अहिले एउटा मात्रै बच्चा छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र दौलाकी अनमी साहना बुढाका अनुसार वडा नम्बर ७ मा उमेर नपुग्दै विवाह गर्नेको दर निकै बढिरहेको छ । उनले किशोर–किशोरीले घरपरिवारको मञ्जुरीबिनै भागी विवाह गर्ने गरेका र उमेर नपुग्दै गर्भवती हुने गरेको बताइन् । साउनदेखि हालसम्म उमेर नपुग्दै गर्भवती हुनेको संख्या १० जना रहेको र उनीहरूले स्वास्थ्य सेवा केन्द्रमा पुगेर नियमित गर्भजाँच गराउने गरेको बताइन् ।
यता, जिल्ला अस्पतालको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७८÷०७९ मा २० वर्षमुनिका १ सय ४८ किशोरीले गर्भजाँच गराएका छन् । यस्तै, आव २०७९÷०८० मा ४ सय ४६ जना किशोरीले २० वर्षमुनि नै गर्भवती भएर जिल्ला अस्पतालमा जाँच गराएको जिल्ला अस्पतालकी सूचना अधिकारी गंगा जोशीले बताइन् । यस आवको साउनदेखि हालसम्म ४६ जना किशोरीले गर्भजाँच गराएको जिल्ला अस्पतालको तथ्यांक छ ।
कुन पालिकामा कति ?
बझाङ जिल्लाभरि बाल विवाह गर्ने दर ६६ प्रतिशत रहेको छ । २०७८ सालको जनगणनाअनुसार जिल्लाका १२ पालिकामध्ये सबैभन्दा बढी २० वर्षमुनि विवाह गर्ने दर सुर्मा गाउँपालिकामा ८३ प्रतिशत रहेको छ । यस पालिकामा १८ वर्षमुनि विवाह गर्ने दर ३८ प्रतिशत छ । जिल्लाको विकट साईपाल गाउँपालिकामा ७६ प्रतिशतले २० वर्षमुनि विवाह गर्छन् भने ३६ प्रतिशतले १८ वर्षमुनि नै विवाह गर्ने गरेका छन् ।
यस्तै, बुंगल नगरपालिकामा ७२ प्रतिशतले २० वर्ष नपुग्दै बाल विवाह गरेका छन् भने १८ वर्ष नपुग्दै २५ प्रतिशतले विवाह गरेको २०७८ को जनगणनाको तथ्यांकमा उल्लेख छ । यस्तै, विथ्थडचिर गाउँपालिकामा ७१ प्रतिशतले २० वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । १८ वर्ष नपुग्दै यस पालिकामा २७ प्रतिशतलले विवाह गर्ने गरेका छन् ।
जिल्लाको तलकोट गाउँपालिकामा ७० प्रतिशतले २० वर्षमुनि र ३२ प्रतिशत १८ वर्षमुनिका किशोर किशोरीले विवाह गर्ने गरेका छन् । मष्टा गाउँपालिकामा ६९ प्रतिशले २० वर्ष नपुग्दै विवाह गर्छन् भने ३३ प्रतिशतले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । यता, छविसपाथीभेरा गाउँपालिकामा ६६ प्रतिशतले २० वर्षमुनि र २४ प्रतिशतले १८ वर्षमुनि नै विवाह गर्छन् ।
केदारस्युँ गाउँपालिकामा ६१ प्रतिशले २० वर्ष नपुग्दै विवाह गर्छन् भने २० प्रतिशतले १८ वर्षमुनि नै विवाह गर्ने गरेका छन् । त्यसैगरी, थलारा गाउँपालिकामा ६५ प्रतिशतले २० वर्षमुनि र २० प्रतिशतले १८ वर्षमुनि विवाह गर्ने गरेका छन् । जिल्लाको दुर्गाथली गाउँपालिकामा ५७ प्रतिशतले २० वर्ष नपुग्दै र २० प्रतिशतले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेका पाइएको छ ।
जिल्लाकै सदरमुकाम र विकासका दृष्टिले अलि अगाडि रहेको जयपृथ्वी नगरपालिकामा समेत ५६ प्रतिशतले २० वर्ष नपुग्दै र २१ प्रतिशतले १८ वर्षमुनि नै विवाह गर्ने गरेको तथ्यांक छ । खप्तडछान्ना गाउँपालिकामा समेत २० वर्ष नपुग्दै ५८ प्रतिशत र २१ प्रतिशतले १८ वर्षमुनि विवाह गर्ने गरेका छन् ।
दुईवटा मात्रै बाल विवाहका उजुरी
दैनिक रूपमा बाल विवाह गर्ने दर बढ्दै जान थालेको भएपनि बझाङ जिल्ला अदालतमा भने २०७७ सालदेखि हालसम्म जम्मा दुईवटा मात्रै बाल विवाहका उजुरी दर्ता भएका छन् । जिल्लाको बाल विवाहको दर हेर्ने हो भने शून्यजस्तै छ । दुईवटा बाल विवाहको मुद्दा दर्ता भएकामा एउटा बहुविवाह र बाल विवाहको समेत मुद्दा दर्ता भएको छ ।
यी दुईवटा मुद्दाबाहेक अन्य कुनै पनि मुद्दा दर्ता नभएको बझाङ जिल्ला अदालत सूचना अधिकारी नरेन्द्र कुमार शर्माले जानकारी दिए । उनले भने, ‘बझाङमा एउटा चेतनाको कमीका कारण पनि बाल विवाह भएको पाइन्छ भने अर्को बाल विवाह गरिसकेपछि उजुरी आउने भनेको पछि गएर बहुविवाह ग¥यो वा अन्य केही तनाव वा सहन गर्न नसकिने समस्या भएको खण्डमा मात्रै उजुरी आउने गरेका छन् ।
जिल्लामा बाल विवाह भएको कुरा बालबालिकाका दुवै पक्ष तथा परिवारका सदस्यलाई थाहा हुन्छ । तर, उजुरी दिन मान्दैनन् र केटी पक्षकाले फेरि छोरीले विवाह गरिसकेपछि घर फर्काउन हुँदैन भन्ने अन्धविश्वास छ । अशिक्षित समाजका कारण पनि उजुरी नआउने गरेको उनले बताए । साथै, उनले आमाबुबाहरूको पनि सहमति हुने गरेको जानकारी दिए ।
उनले बालविवाह गर्दा हुने हानी र थप समस्याका ’दयगतमा जानकारी नहुनु, बाल विवाह दण्डनीय अपराध हो भन्ने कुरा थाहा नपाउनु, सामाजिक सञ्जालको दुरुपयोग गर्नु, किशोर किशोरीको अवस्था अपरिपक्वता र ज्ञानको कमी, साथीहरूको लहैलहैमा लाग्नु र विवाहमा अभिभावकको निर्णायक भूमिका आदिका कारण बाल विवाह बढ्दै गएको बताए ।
लगानी बालुवामा पानी
जिल्लाको दुर्गाथली गाउँपालिकामा २०७२ सालदेखि २०७७ सालसम्म युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा दलित सहयोग समाजको सहकार्यमा दुर्गाथली गाउँपालिकाको गैरीगाउँ, दौला, शैन र चुवावनमा परम्परागत हानिकारक चालचल परियोजना सञ्चालन गरेको थियो ।
यस परियोजनाले ५ वर्षसम्म यस क्षेत्रमा छाउपडी प्रथा, बाल विवाह, घरेलु हिंसालगायतका विषयमा केन्द्रित रहेर काम गरेको देखिन्छ । तर, यस क्षेत्रको अवस्था अहिले पनि झन दर्दनाक रहेको छ । लाखौं रकम खर्च गरेको भएपनि कागजी रूपमा थुप्रै उपलब्धि भएको देखिन्छ ।
तर, यस क्षेत्रको अहिले अवलोकन गर्ने हो भने उपलब्धि शून्य छ । यस संस्थाले अहिले समान व्यवहार परियोजनाअन्तर्गत बुंगल नगरपालिकाको वडा नम्बर ९, १० र ११ मा २०७७ सालदेखि काम गरिरहेको देखिन्छ । यस क्षेत्रमा विभिन्न सचेतना सीपमूलक र आयआर्जनमा रहेर विभिन्न कार्यक्रम गर्न वार्षिक रूपमा झन्डै १ करोड रुपैयाँ खर्च गरिरहेको दलित सहयोग समाजमा कार्यकारी निर्देशक सुनिल नेपालीले बताए ।
यस्तै, यूएनएफपीएको आर्थिक सहयोगमा पिसविन बाजुराको सहकार्य तथा जयपृथ्वी नगरपालिका, तलकोट गाउँपालिका, मष्टा गाउँपालिका र विथ्थडचिर गाउँपालिकाको समन्वयमा रूपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रमअन्तर्गत किशोर किशोरी र उनीहरूका अभिभावकलाई रूपान्तरण कक्षा दिइरहेको कार्यक्रम संयोजक धनबहादुर लम्सालले बताए ।
यी चारवटा पालिकामा सन् २०२१ देखि कार्यक्रम सुरु भएको हो । यी पालिकामा वार्षिक रूपमा झन्डै ५० लाख खर्च हुने गरेको लम्सालले बताए । पछिल्लो समयमा किशोर किशोरीले आफैं भागेर विवाह गर्ने दर बढेको बताउँदै उनले यसलाई रोक्न स्थानीय सरकारले विभिन्न नीति तथा कार्यक्रम लागू गर्नुपर्ने कुरामा जोड दिए ।
बाल विवाह रोक्नका लागि वल्ड भिजनको आर्थिक सहयोगमा प्रगतिशील युवा समाजले जिल्लाको जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकामा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।
यस्ता सचेतनामूलक कार्यक्रमले केही रूपमा बाल विवाह गर्ने दरमा न्यूनीकरण गरेको जोशीको दाबी छ । बाल विवाह अन्त्यका लागि भन्दै पालिकाहरूले पनि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, उपलब्धि भने शून्य रहेको देखिन्छ । बाल विवाह रोकिनुको सट्टा दिनानु दिन बढ्दै जान थालेको पाइन्छ ।


 
                     
			
 
					 
					 
					 
					 
					

 
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया दिनुहोस्