मकवानपुर- मकवानपुर प्रहरीले जिल्लाको मनहरी गाउँपालिकाबाट एकथान कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन्।
प्रहरीले बिहीबार विशेष सूचनाको आधारमा मनहरी– ९ खरंगास्थित हरियाली सामुदायिक वनमा राक्सीराङ गाउँपालिका- २ का २६ वर्षका लालकुमार तितुङ र सोही स्थानका १९ वर्षका ज्ञानबहादुर स्याङतानलाई पक्राउ गरेको हो।
मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार भावरतर्फबाट खरंगा आउँदै गरेको बा ४१ प २८१८ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोलसहित मोटरसाइकलका चालक तितुङ र पछाडि सवार स्याङतानलाई पक्राउ गरिएको हो।
उनीहरूको साथबाट अवैध नालसहितको कटुवा पेस्तोल एक थान, बारुद दुई थान फेला परेको प्रवक्ता भण्डारीले जानकारी दिए। नियन्त्रणमा लिएका तितुङ र स्याङतानलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्