कैलाली । कैलालीको जानकी गाउँपालिका–४ मुनुवाकी स्वस्तिका चौधरी कक्षा ७ मा पढ्छिन् । तर, स्वस्तिकाको यसवर्षको रिजल्ट भने राम्रो भएन । लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि बुबाआमा भारत जागिर गएपछि घरको जिम्मेवारी यतिबेला स्वस्तिकाको काँधमा आएको छ । घरको हेरचाह गर्दा उनको पढाइ राम्रो हुन सकेको छैन । स्वस्तिकालाई लघुवित्तमा कति रकम तिर्नुपर्छ भन्नेसम्म थाहा छैन । तर हरेक दिन जसो लघुवित्तका कर्मचारीका कुरा भने सुन्नु परिरहेको छ । उनी घरमा कक्षा ५ मा अध्ययनरत भाइसँग बस्छिन् । ‘खानका लागि घरमा अन्न छैन । किन्नलाई पैसा पनि छैन’, उनी भन्छिन्, ‘आमाबुबा नहुँदा हाम्रो बिचल्ली भएको छ ।’
लघुवित्तको ऋणले समस्यामा परेको स्वस्तिकाको परिवार उदाहरण मात्रै हो । लघुवित्तको ऋण तिर्न नसक्दा कैयौँ व्यक्ति आज घरबारविहीन भएका छन् भने कतिपयले सन्तान छाडेर हिँडेका छन् ।
कैयौँ परिवारमा लघुवित्तको ऋणका कारण फाटो आएको छ भने कैयौँ समूहमा बसेर मात्रै पनि विचल्लीमा परेका छन् । मुनुवा गाउँकै पनि एक दर्जनभन्दा बढी परिवार घरबार छोडेर लघुवित्तको ऋण तिर्न नसकेर भागेका छन् ।
सोही ठाउँकी सीतादेवी रावरले केहीवर्ष पहिले एक लघुवित्तबाट रु.एक लाख पचास हजार ऋण ििलएकी थिइन् । उनले महिनैपिच्छे लघुवित्तको किस्ता र ब्याज तिर्दै आएकी थिइन् । कोरोना सङ्क्रमणपछिका दिनमा आर्थिक जोहो गर्न नसकेपछि उनको दुईतीन किस्ता रोकिएको छ । किस्ता रोकिएपछि लघुवित्तका कर्मचारीले उहाँलाई वैशाख १७ गतेसम्मको भाका दिएको छ ।
‘कुन दिन दशा लागेर लघुवित्तको ऋण लिन पुगेछु । ऋण दिँदा सहजरुपमा काम भयो अहिले मर्नु न बाँच्नु जस्तो भएको छ’, सीतादेवीले भनिन्, ‘वैशाख १७ गतेसम्म किस्ता र ब्याज तिर्न नसके घरमा भएको सामान, बाख्रा उठाउने धम्की दिएर लघुवित्तका कर्मचारी गएका छन् ।’ उनले कर्मचारीले पैसा तिर्न नसक्दा धम्काउने, तर्साउने र नहुँदा शब्द प्रयोग गर्ने गरेको दुःखेसो पोखेकी छिन् ।
कैयौँ व्यक्ति विस्थापित भएर घरबारविहीन हुने अवस्थामा पुगेको रुपनी डगौँराको भनाइ छ । ‘पछिल्लो ११ वर्षदेखि लघुवित्तको समूहमा बसेर कारोबार गर्दै आएकी छु । गाउँघरमा लेखपढ गर्न नजानेका महिलालाई लघुवित्तले नराम्रोसँग फसाएको रहेछ’, उनले भनिन्, ‘अहिले थाहा भयो । अनि आवाज उठ्न थालेको हो । ऋण दिने बेलामा १५ प्रतिशत ब्याजदरमा दिने र सेवा शुल्क, बीमा शुल्कबाट गरिबलाई झन गरिब बनाउने काम भइरहेको रहेछ ।’ लघुवित्तले रु एक लाख ऋण दिँदा ८० हजार मात्रै पाइने गरेको उनको भनाइ छ । उनका अनुसार समूह बनाएपछि आयआर्जनका लागि सीपमूलक तालिम दिनुपर्ने राष्ट्र बैंकको नीति भए पनि लघुवित्तले बचतमा केन्द्रित भएर तालिम दिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्